काठमाण्डौ ९ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने भ्रमणका लागि बङ्गलादेश प्रस्थान गर्नुभएको छ । उहाँ बिहान ८ बजेर ४० मिनेटमा नेपाल एअरलाइन्सको उडानमार्फत ढाका प्रस्थान गर्नुभएको हो ।राष्ट्रपति भण्डारीको बिदाइका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत उच्च पदस्थ अधिकारी त्रिभुवन विमानस्थलमा पुग्नुभएको थियो । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी ढाका जानुभएको हो ।
बिहान १० बजे ढाकामा उहाँलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डाक्टर वंशीधर मिश्रले स्वागत गर्नुहुनेछ । राष्ट्रपति भण्डारीलाई ‘गार्ड अफ अनर’ले सम्मान गरिनेछ । आजै राष्ट्रपति भण्डारी र समकक्षी हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ । त्यस्तै प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेललगायत ५४ जना रहेका छन् । राष्ट्रपति भण्डारीको भ्रमणका पर्यटन र संस्कृति आदानप्रदानसँग सम्बन्धित केहि विषय, पशुपन्क्षी र बालीनालीमा प्रयोग हुने विषादी तथा बन्दरगाह, रेल वे र नेपाल–बंगलादेश यातायात सञ्चालनका विषयमा पनि सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।
प्रतिक्रिया