काठमाण्डौ २३ चैत्र । अहिले देशको पाँच सय ३० ठाउँको जङ्गलमा डढेलो लागिरहेको छ । वन तथा भू संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार ६० जिल्लाका पाँच सय ३० ठाउँमा डढेलो लागिरहेको हो ।अनुगमन प्रणालीका अनुसार अहिले सबैभन्दा धेरै सिन्धुलीको ३१ ठाउँको जङ्गलमा डढेलो लागिरहेको छ ।
यस्तै बर्दिया र डोटीको ३०र३० ठाउँमा, बाँकेको २९ ठाउँमा, मकवानपुरको २४ ठाउँमा, सल्यानको २१ ठाउँमा र ओखलढुङ्गाको २० ठाउँमा डढेलो लागिरहेको छ ।वन क्षेत्रमा लागेको डढेलोका कारण ठूलो क्षेत्रफलको जङ्गल डढेर नष्ट भएको छ भने कतिपय वन्यजन्तु तथा पक्षी मारिएका छन् । थुप्रै जङ्गलको डढेलो बस्तीमा पुग्ने खतरा रहेकाले गाउँलेहरू बस्ती जोगाउन खटिरहेका छन् । जङ्गलहरू डढिरहेको भए पनि आगो निभाउन सरकारले प्रभावकारी काम नगरेको स्थानीयबासी बताउँछन् ।
डढेलो बढेसँगै देशभरको वायु प्रदूषण पनि बढेको छ । काठमाण्डौ अहिले संसारकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर बनेको छ । अहिले काठमाण्डौमा हावाको प्रदूषण मापन सूचक (एक्यूआई) दुई सय ४३ रहेको छ । दोस्रो वायु प्रदूषित सहर म्यानमारको योङ्गनको एक्यूआई एक सय ६९ छ ।एक्यूआई दुई सयभन्दा माथि गएमा स्वास्थ्यका लागि खतरनाक मानिन्छ । अहिले काठमाण्डौ उपत्यकाका सबैजसो हावाको प्रदूषण मापन केन्द्रहरूले हावाको अवस्था खतरनाक भएको सङ्केत दिइरहेका छन् ।
चैत १३ गते एक्कासी सुरु भएको वायु प्रदूषण गएको बुधवार पानी परेपछि केही घटेको थियो तर सोमवार (आज) बिहानैदेखि प्रदूषणको मात्रा बढेको हो । देशका धेरै जङ्गलमा डढेलो लागिरहेकाले प्रदूषणको मात्रा बढेको वातावरण विभागले जनाएको छ ।यसैबीच काठमाण्डौसहित देशभरि वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन स्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले श्वासप्रश्वासमा कठिनाइलगायत स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न स्वास्थ्य विज्ञले आग्रह गरेका हुन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डाक्टर मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण बढेको हुँदा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै परे गुणस्तरीय मास्क प्रयोग गर्नसमेत अनुरोध गर्नुभयो । उहाँले वायु प्रदूषणका कारण फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकाले बाहिर ननिस्कन अनुरोध गर्नुभयो ।वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा बर्सेनि वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको ज्यान जाने गरेको छ । विश्वमा यस्तै कारणले बर्सेनि ७० लाख मानिसको ज्यान जाने गरेको छ ।
प्रतिक्रिया