सन्धिखर्क 24 बैशाख।कोभिड महामारी बढिरहेको समयमा अर्घाखाँचीमा रहेका दुईवटै प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सेवाग्राही समस्यामा परेका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ कमा रहेको छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र र १ ख मा रहेको शितगंगा नगरपालिकाको ठाडा प्राथमिक स्वाथ्य केन्द्र डाक्टरविहीन हुँदा सामान्य रोगका बिरामी हुँदा पनि सन्धिखर्क तथा बुटवल जान बाध्य छन्।
२ जना चिकित्सकको दरबन्दी रहेको दुबै प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका चिकित्सक अध्ययन विदामा गएपछि प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले बताए ।
अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका अन्य कर्मचारीको भरमा प्राथमिक स्वास्थ्य केन्द्र चलेका छन् । सामान्य खालका बिरामी अन्यत्र जानुपर्ने बाध्यता स्थानीयले खेपेको शितगंगा नगरपालिका वडा नम्वर ३ ठाडाका स्थानीय नारायण अधिकारीले बताए । प्राथमिक स्वास्थ्य केन्द्रमा एचए पनि नहुदा अहेब अन्य कर्मचारीले बिरामीको चेकजाँच र उपचार गरिरहेका छन् ।
स्वास्थ्य केन्द्रमा रहेका २ जना चिकित्सक अध्ययन गर्न गएपछि प्राथमिक स्वास्थ्य केन्द्र डाकटरविहीन बनेको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए । चिकित्सक ल्याउन पहल भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया