काठमाडौं, ३ जेठ । नेपाली व्यावसायीले चीनबाट मगाएको सात हजार पाँच सय अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुगेको छ । १८ हजार अक्सिजन सिलिण्डरमध्ये ७५ सय सिलिण्डर तातोपानी नाकामा आइपुगेको उनीहरुले जानकारी दिएका छन् ।
७५ सय सिलिण्डरसहितका अन्य स्वास्थ्य सामग्री दिउँसो १२ बजे चिनियाँ कन्टेनरले तातोपानी नाका ल्याएको प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिएका छन् । सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यावसायी रमेश शेर्पाले व्यापारिक प्रयोजनका लाई ल्याएका ती सामान तातोपानी नाकामा झारेर तथ्याङ्क संकलन गरी त्यहाँबाट छुटाइने अधिकृत गौतमले जानकारी दिएका छन् । चार वटामध्ये दुई वटा कन्टेनरमा खाली सिलिण्डर आएको उनले जानकारी दिएका छन् ।
यसअघि आइतबार नै नेपाल आइपुगेको भनि प्रचार गरिएका स्वास्थ्य सामग्री आज मात्र तातोपानी आइपुगेको गौतमले बताएका छन् । ७५ सय सिलिण्डर आए पनि बाँकी १० हजार सिलिण्डर पनि केही दिनमा आउने व्यवसायीको भनाइ छ । चाँडै आउन लागेको भनिएको १० हजार सिलिण्डर एभरेस्ट ग्याँसका सञ्चालक शिवप्रसाद घिमिरे र व्यवसायी दीपक मल्होत्राले आयात गरेका हुन् ।
यसैबीच आइतबार बिहान राष्ट्रिय समाचार समिति (रासस) मा अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुगेको समाचार प्रकाशित भएको थियो । राससमा प्रकाशित समाचार अन्य सबैजसो सञ्चारमाध्यममा प्रकाशित भए । उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेको भनाइ उद्धृत गरिएको उक्त समाचारमा ती सिलिण्डर चीन सरकारले अनुदानमा दिएको उल्लेख थियो ।
प्रतिक्रिया