पर्यटन

मृतकको संख्या आधा घट्यो तर एक हप्तामा एक परिवारका ३ ले ज्यान गुमाए



रुपन्देही १४ जेठ  । आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार नौ सय ३९ जना सङ्क्रमित थपिँदा सात हजार दुई सय २६ जना निको भएका छन् । आज निको हुने सात हजार दुई सय २६ जनासँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चार लाख १८ हजार आठ सय २९ पुगेको छ । 

पछिल्लो २४ घण्टामा २० हजार चार सय १४ जनाको पीसीआर परीक्षण गर्दा ६ हजार सात सय ३१ जना र पाँच सय ७८ जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय आठ जना गरी ६ हजार नौ सय ३९ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाख ४२ हजार दुई सय ५६ पुगेको छ । 

यस्तै थप एक सय ६ जनाको ज्यान गएको विवरण प्राप्त भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार नौ सय ५१ पुगेको छ । अहिले नेपालमा एक लाख १६ हजार चार सय ७६ जना सक्रिय सङ्क्रमित छन् । यता कोरोना संक्रमणबाट बिहीबार कपिलवस्तुमा जिल्लामा ३ जना पुरुषको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–१ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको तौलिहवास्थित अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो ।

वाणगंगा नगरपालिका–२ का ५७ वर्षीय र वडा नं. ८ का ९८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । ५७ वर्षीय पुरुषको होम आइसोलेसनमा र ९८ वर्षीय पुरुषको भैरहवामा उपचार हुदाँहुँदै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताउनुभएको छ । जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या १७३ पुगेको छ । यहाँ बिहीबार ८३ जना नयाँ संक्रमित थपिएर सक्रिय संक्रमितको संख्या बढेर १,२९१ पुगेको छ ।

यस्तै  बुटवलमा कोरोना संक्रमणबाट एक हप्ताको अवधिमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा एकै परिवारका पाँच सदस्यमध्ये बाबु आमा र छोराको एक हप्ता अवधिमा मृत्यु भएको हो । वैैशाख अन्तिम साता उक्त परिवारका आमा र छोरामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि ३९ वर्षका छोराको अवस्था गम्भीर भएपछि युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएको थियो । ५५ वर्षीया आमाको स्वास्थ्यमा भने खासै जटिल समस्या थिएन । त्यसैले उनी घरमै आइसोलेसनमा थिइन् । तर जेठ ५ गते उनको घरमै मृत्यु भयो ।

त्यसबीचमै ६९ वर्षीय बुबामा पनि कोरोना संक्रमण भयो र उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा भर्ना गरियो । उपचारकै क्रममा जेठ ७ गते छोराको र जेठ १२ गते बुबाका मृत्यु भयो । एक हप्तामा एकै परिवारका तीनजनाको मृत्युको घटनाले स्तब्ध बनाएको बुटवल उपमहानगरपालिका १० का वडाअध्यक्ष तथा मृतकका छिमेकी पदमबहादुर थापाले बताउनुभएको छ ।

प्रकाशित : १४ जेष्ठ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६