दाङ ७ असोज। प्रेस काउन्सील नेपालले नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष एवं कान्तिपुर दैनिकका उपसम्पादक दुर्गालाल केसीलाई यस बर्षको सशक्त सञ्चारकर्मी पुरस्कार प्रदान गरेको छ । काउन्सीलको ५२ औं स्थापना दिवसको अवसरमा आज बुधबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारीले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो । यसैगरी नागरिक दैनिकका दाङ संवाद्दाता देवेन्द्र बस्नेतले युवा पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । राप्ती साहित्य परिषद्ले प्रकाशन गर्दै आएको अन्र्तध्वनीले साहित्यिक पत्रकारिता पुरस्कार प्राप्त गरेको छ । पत्रिकाका सम्पादक पुरुषोत्तम खनालले उक्त पुरस्कार ग्रहण गरेका थिए ।यसैगरी गोपालदास पत्रकारिता पुरस्कार भारतदत्त कोइराला र सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बद्रिबिनोद खनाललाई प्रदान गरिएको छ । महिला, युवा, भाषागत लगाएतका अन्य पुरस्कारहरु पनि बिभिन्न पत्रकारहरुलाई प्रदान गरिएको छ । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पत्रकारितालाई मर्यादित बनाउन काउन्सीलकोे भूमिकालाई अझ सशक्त बनाउनुपर्ने बिचार व्यक्त गरेकी थिइन् ।कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पुरस्कृत सबै पत्रकारहरुलाई बधाई ज्ञापन गरेका थिए । उनले अहिले जिम्मेवार र अनुशासित पत्रकारिताको आबश्यकता रहेको धारणा व्यक्त गरे । काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितालाई मर्यादित बनाउन काउन्सीलले सशक्त भूमिका खेल्दै आएको बताएका थिए ।
७ आश्विन २०७८, बिहिबार
प्रतिक्रिया