कपिलवस्तु,२३असोज । कपिलवस्तको बाणगंगा नगरपालिका स्थित सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो सेवा क्षेत्र विस्तारलाई तीब्रता दिएको छ । ‘समृद्धिका लागि सहकार्य’ भन्ने नारालाई आत्मसात गर्दै नगरका ६ वटा सहकारी संस्था एकीकरण भए पश्चात बनेको यस बहुउद्देश्यीय सहकारीले तीन महिना भित्रै नगरका ३ स्थानमा नयाँ सेवा केन्द्र स्थापना गरी सेवा क्षेत्र विस्तार गरेको छ ।
गत साउन ९ गते वडा नं ११ को प्रगतिनगर र भदौ १२ गते वडा नं ९ को भलवाडमा सेवा केन्द्र स्थापना गरेको यस सहकारीले शनिबार वडा नं ६ को बैदौलीमा नयाँ सेवा केन्द्र उद्घाटन गरेको छ । वडा नं ५ र ६ लाई लक्षित गरी स्थापना गरिएको यस सेवा केन्द्रबाट सेवा आरम्भ भएसंग अब सिनर्जीको सेवा नगरका विभिन्न ७ स्थानबाट प्रवाह हुने भएको छ । यस अघिदेखि नै नगरका वनगाई, जीतपुर, बोडगाउँ र ओदारीबाट सेवा प्रदान गरीरहेको यस सहकारीले थप तीन स्थानबाट कारोबार शुभाम्भ गरेपछि नगरका ७ स्थानबाट सेवा प्रवाह हुने भएको हो ।
शनिबार एक समारोहका बीच संविधान सभा सदस्य विश्राम प्रसाद थारुले बैदौली सेवा केन्द्रको उद्घाटन गर्नुभएको छ । सेवा केन्द्रको उद्घाटन गर्दै संविधान सभा सदस्य थारुले सहकारीले गाउँघरमा छरिएर रहेको पूँजीलाई संकलन तथा लगानी गरी जनताको आर्थिक अवस्था उकास्न योगदान गर्नुपर्ने बताउनुभयो । सहकारीले आवश्यक ज्ञान, सिप एवं परामर्श सहित आर्थिक लगानी गरेर व्यवसायिकता एवं उद्यमशीलता तर्फ जनतालाई प्रोत्साहित गर्नुपर्ने थारुको भनाइ छ । उहाँले संस्थाको भविश्यसंगै सदस्यहरुको भविश्य पनि उज्ज्वल हुने भएकाले संस्थालाई सफल बनाउन सबै एकजुट भएर लग्नुपर्नेमा जोड दिनुभयो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले सिनर्जीले नगरका विभिन्न स्थानमा सेवा विस्तार गरी जनतालाई वित्तिय सेवा प्रवाहसंगै जागरण ल्याउने काममा समेत महत्वपूर्ण योगदान गरेको बताउनुभयो । सहकारीको संख्यात्मक भन्दा गुणात्मक विकासमा नगरले जोडदिएको बताउदै उपमेयर अर्यालले ६ वटा सहकारी एकीकृत भएर एउटा बहुउद्देश्यीय सहकारीको रुपमा सिनर्जी विकसित हुनु सुखद कुरा भएको तर्क गर्नुभयो ।
अर्यालले नगरका केहि सहकारीलाई नमूना सहकारीको रुपमा अघि सार्ने नगरपालिकाको योजना रहेकोे जनाउदै सिनर्जीलाई पनि नगरको एक उत्कृष्ट सहकारीको रुपमा स्थापित हुन सुझाव दिनुभयो । उहाँले आर्थिक विकासका तीन खम्बा मध्ये सहकारी क्षेत्र एक महत्वपूर्ण खम्बा रहेको बताउदै सहकारीताको उचित विकासबाट मात्र समाज तथा राष्ट्रको विकास र समृद्धि सम्भव हुने बताउनुभयो ।
कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष भिष्मराज भुसाल, वडा नं ६ का वडाध्यक्ष सुकदेव थारु, समाजसेवी भभुते थारु, राम प्रसाद बेल्बासेले लगाएतले बोल्दै वित्तिय संस्थाहरुको खासै उपस्थिती नभएको बैदौली क्षेत्रमा वडा नं ५ र ६ लाई लक्षित गरी सेवा केन्द्र विस्तार गरेकोमा सिनर्जी सहकारीलाई धन्यवाद ज्ञापन गर्दै संस्थाको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न संघसंस्था प्रमुख एवं प्रतिनिधी, समाजसेवी, सञ्चारकर्मी, व्यवसायी, कृषक, संस्थाका पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।संस्थाका अध्यक्ष लक्ष्मण बेल्बासेको अध्यक्षता रहेको उक्त कार्यक्रम उपाध्यक्ष कुलराज पौडेलको स्वागत र सचिव कृष्ण प्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न भएकोे थियो ।
प्रतिक्रिया