प्रदेश

बाढी पहिरो कहरः देशभर २१ जनाको मृत्यु, २४ वेपत्ता, सयौँ विस्थापित ।



काठमाण्डौँ, ०३ असोज । अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । अरु २४ जना बेपत्ता छन् । सयौं मानिस विस्थापित बनेका छन् । हिउँद सुरु हुँदैगर्दा परेको वर्षाबाट देशका अधिकांश जिल्ला प्रभावित बनेका छन् । विशेषगरी तराई क्षेत्रमा वर्षाले धान, गहुँसहित ठूलो मात्रामा अन्नबाली नष्ट पारेको छ भने कतिपय बस्ती डुबानमा परेका छन् ।

बाढीपहिरोले गर्दा पश्चिम नेपालका धेरैजसो सडक अवरुद्ध हुनुका साथै भौतिक संरचना ध्वस्त बनेका छन् । महाकाली, सेती, कर्णाली लगायत देशका ठूला नदीको बहाव ह्वात्तै बढ्दा आसपासका बस्ती जोखिममा परेका छन् । केही स्थानमा भने पहिरोको जोखिमका कारण मानिसनहरु विस्थापित बनेका छन् ।

सुदूरपश्चिमका सबैजसो जिल्लाहरु अन्यको तुलनामा बढी प्रभावित छन् । सबैभन्दा बढी प्रभावित जिल्लामध्ये एक बझाङ हो । जहाँ पहिरोमा परी २४ जना बेपत्ता भएका छन् । सोमबार रातिको पहिरोमा परेर थलारा गाउँपालिका–४ डिक्लामा २४ जना हराइरहेका छन् । गाउँबाट एक किलोमिटर माथि रहेको ढोगदिना डाँडा भन्ने ठाँउबाट पहिरो खस्दा सात घर पहिरोमा पुरिएको स्थानीय प्रहरीले जनाएको छ । बैतडीमा पहिरोका कारण ३ जनाको मृत्यु भएको छ ।

सेती नदीमा बहाव बढेपछि सिगास गाउँपालिका ढुंगाड गाउँ नै बगाउने जोखिम भएपछि करिब ६० जना उद्वारको पर्खाइमा छन् । सोमबार रातिदेखि उद्वारको पर्खाइमा रहेका उनीहरुको मंगलबार दिनभर पनि उद्वार हुन सकेन । उद्वारका लागि गएको नेपाली सेनाको हेलिकप्टरसमेत अवतरण नगरिकन फर्किएको छ । नदीले गाउँको जमिन कटान गरेर ढुंगाडमा एउटा टापु नै बनाएको छ । जहाँ स्थानीयहरु जुनसुकै बेला आफूहरुलाई बाढीले बगाउनसक्ने भन्दै उद्वारका लागि आग्रह गरेका छन् ।

खराब मौसम र संचार सेवा अवरुद्ध हुँदा उद्वारको पर्खाइमा बसिरहेका ढुंगाडका बासिन्दासम्म उद्वारकर्मी पुग्न सकेका छैनन् । सुदूरपश्चिमका जयपृथ्वी राजमार्गसहित अधिकांश पहाडी जिल्ला जोड्ने सडक पहिरोका कारण अवरुद्ध छन् । सदरमुकाम नजिकैको डुङग्री खोलामा आएको बाढीले डुङग्री बजार र लेकी जोड्ने झोलुङगे पुल र नजिकैका ५ वटा पक्की घर पनि बगाएको छ । बजारका अरु घरहरु पनि जोखिममा परेको भन्दै स्थानीयहरु सुरक्षित स्थानतर्फ गएका छन् ।

कन्चनपुर पनि बाढीबाट नराम्ररी प्रभावित बनेको छ । भीमदत्त नगरपालिका ९ खल्ला मसेट्टीमा महाकालीको बाढीमा सोमबार रातिदेखि फसेका ५ जनाको भने मंगलबार उद्धार भएको छ । मंगलबार साँझ नेपाली सेनाको हेलिकप्टरले उनीहरुको उद्वार गरेको हो ।

यस्तै डोटीका विभिन्न स्थानमा बाढीपहिरोका कारण ९ जनाको मृत्यु भएको छ । कैलालीका अधिकांश स्थानमा डुवान भएको छ । धनगढी बजार नै जलमग्न भएको छ । धनगढी उपमहानगरपालिकाका विभिन्न भागमा बाढीले कटान गर्नुका साथै डुबान गरेको छ । भीमदत्त राजमार्गमा आएको पहिरोका कारण यातायात अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् । किसानहरुले भित्र्याउने तयारी गरेको धानबालीमा नोक्सान पुगेको छ ।

धनगढी उपमहानगरपालिका ४ स्थित बसपार्क, वडा नम्बर ३ स्थित विशालनगर, मिलनचोक, वडा नम्बर १ को सन्तोष टोल, बजार मार्ग, शीवनगर, वडा नम्बर ५ को हसनपुर क्षेत्र लगायतका टोलबस्तीमा डुबानले कयौं घरभित्र पानी पसेको छ । भीमदत्त राजमार्गअन्तर्गत कैलालीको सहजपुरदेखि भासुभीर सडक खण्डका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

यस्तै सल्यानमा पहिरोले तीन घर भत्किएका छन् । शारदा नगरपालिकामा दुई र बन्गाड कुपिण्डे नगरपालिकामा एक घर भत्किएका हुन् । घर भत्किएपछि परिवारका सबै सुरक्षित स्थानतर्फ भागेर बाँच्न सफल भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोबिन्द थापाका अनुसार लगातारको वर्षाका कारण सल्लीबजार चौरजहारी सडकखण्ड अवरुद्ध भएको छ । बन्गाड कुपिण्डे नगरपालिकाको धारापानी भन्ने ठाँउमा गएको पहिरोले मंगलबार बिहान ११ बजेदेखि सडक अवरुद्ध भएको हो ।

कालिकोटमा पहिरोका कारण घर भत्किँदा एक किशोरीको मृत्यु भएको छ । एक घाइते छन् । महाबै–७ राम्नीकी १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको हो । स्मृतससँगै सुतेकी उनकी १५ वर्षीया बहिनी इशानी अधिकारी भने घाइते छन् ।

घाइते इशानीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । पहिरोले सोही गाउँका अन्य ५ घर पनि भत्किएका छन् भने २५ घर जोखिममा छन् । जोखिममा रहेका २५ घर परिवारलाई स्थानीय राम मावि राम्नी र स्वास्थ्य चौकीको भवनमा सारिएको प्रहरीले जनाएको छ ।पहिरोले मान्म बजारका दर्जनौं १३ घर जोखिममा परेका छन् ।

लुम्बिनीका रुपन्देही, बाँके, गुल्मी लगायत जिल्ला बाढीपहिरोबाट प्रभावित बनेका छन् । राप्ती नदीमा आएको बाढीले यहाँका धेरै ठाउँमा डुबानमा पारेको छ । राप्ती नदीको बाढीमा फसेका चार जनाको भने मंगलबार बिहान उद्वार गरियो । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएको छ । कुसुमस्थित बाढी मापन केन्द्रमा मंगलबार बिहान गरिएको मापनअनुसार राप्ती नदीको सतह ३ मिटर ४० सेन्टिमिटर पुगेको छ ।

पाल्पामा पनि बाढीपहिरोले ठूलो असर पु¥याएको छ । पर्यटकीयस्थल रानीमहल पुगेका २ सय बढी आन्तरिक पर्यटकहरु पहिरोका कारण अलपत्र परे । तानसेनदेखि रानीमहल पुग्ने सडकको ठाउँठाउँमा पहिरो खस्दा पर्यटकहरु अलपत्र परेका थिए ।

गण्डकीका म्याग्दी, मनाङ, मुस्ताङ लगायत जिल्ला पहिरोबाट बढी प्रभावित भएका छन् । बेनी–जोमसोम सडकको म्याग्दी–मुस्ताङ सीमा क्षेत्रको दाना–घाँसा खण्डमा पर्ने पहिरोग्रस्त रुप्सेछहरा, काप्रे र बाँदरजुँगभीर क्षेत्रमा सवारी जाम हुँदा सयौं यात्रु मंगलबार दिनभर अलपत्र बने ।

वागमती प्रदेशका जिल्ला अन्यको तुलनामा कम प्रभावित बनेका छन् । सिन्धुलीमा भने खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । चितवन, मकवानपुर लगायत जिल्ला पनि बाढीपहिरो प्रभावित बनेका छन् ।

जनकपुर वर्षाले जनकपुरको नगर क्षेत्र जलमग्न भएको छ । वर्षाको पानी घर तथा पसलमा छिर्दा करोडौं मूल्य बराबरको धनको क्षति भएको छ । मंगलबार बिहान झन्डै चार घण्टा मुसलधारे वर्षा भएपछि नगर क्षेत्रमा एसियन विकास बैंकको सहयोगमा निर्मित ढलबाट पानी बग्न नसक्दा घर घरमा पानी पसेको थियो । बाढीका कारण झापामा ४० घर डुबानमा परेका छन् । कनकाई नदीमा आएको बाढी पस्दा दक्षिण झापाको गौरीगञ्ज गाउँपालिकाको एउटा बस्ती नै डुबेको हो ।

प्रकाशित : ३ कार्तिक २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६