काठमाडौ २१कार्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधि समाप्त हुँदा वाणिज्य बैंकको औसत आधार दर (बेस रेट) ७.५० पुगेको छ । सामान्यतया बैंकहरुले बेस रेटमा निश्चित प्रिमियम थपेर कर्जाको ब्याज दर तय गर्ने भएकाले सबैभन्दा कम बेस रेट हुने बैंकले तुलनात्मक रुपमा कम ब्याजदरमा ऋण प्रवाह गर्ने सम्भावना हुन्छ । त्यसैले ऋण लिनुअघि कुन बैंकको बेस रेट कति छ भन्ने थाहा भयो भने सहज हुन्छ ।
बैंकहरुले बेस रेटमा न्यूनतम २ देखि अधिकतम ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जाको ब्याज दर तय गर्दै आएका छन् । सेवाग्राहीले कुन क्षेत्रका लागि ऋण लिन लागेको हो अनि कति ऋण लिन लागेको हो, त्यसका आधारमा पनि ब्याजदर तजमाथि हुन सक्छ । जस्तो कृषि तथा उद्यम क्षेत्रमा प्रवाह हुने ऋणको ब्याजदर तुलनात्मक रुपमा कम हुन्छ भने घरजग्गा, गाडी, सेयर लगानीजस्ता क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर केही बढी हुन सक्छ । नेपाल राष्ट्रबैंकले बेलाबेलामा जारी गर्ने निर्देशिकाले पनि यसमा भूमिका खेलेको हुन्छ ।
नेपालमा सञ्चालित २७ वटा वाणिज्य बैंकले हालै सार्वजनिक गरेको पहिलो त्रैमासिक अवधिको वित्तीय विवरणअनुसार सबैभन्दा कम बेस रेट हुनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक देखिएको छ । यस बैंकको बेस रेट ५.१८ छ । यसपछिको स्थानमा रहेका राष्ट्रिय वाणिज्य बैंकको ५.६३, नेपाल बैंकको ५.९३, नबिल बैंकको ६.११ र नेपाल इन्भेस्टमेन्ट बैंकको बेस रेट ६.७७ छ ।
सबैभन्दा बढी बेस रेट हुनेमा मेगा बैंक देखिएको छ । यस बैंकको बेस रेट ९.८१ छ । यस्तै बैंक अफ काठमान्डूको ८.५६, सनराइज बैंकको ८.४, प्राइमको ८.२७, सिभिलको ८.२६, एनसिसी बैंकको ८.१२, सिटिजन्स र नेपाल एसबिआईको ८.११ तथा सेन्चुरी कमर्सियल बैंकको बेस रेट ८.०९ छ । बाँकी बैंकहरुको बेस रेट ७ देखि ७.९६ सम्म रहेको छ । कुल बैंकहरुमध्ये ११ वटा बैंकको बेस रेट औसतभन्दा कम छ भने बाँकीको औसतभन्दा माथि छ ।
प्रतिक्रिया