काठमाडौं, ३० कात्तिक । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण आज ९मंगलबार० बिहानैदेखि यात्रुले सास्ती पाएका छन् ।विशेष गरी लामो दूरीबाट यात्रा गरेर काठमाडौं आएका यात्रुले बिहानै सास्ती भोगेका छन् । विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका यात्रु काठमाडौंका विभिन्न ठाउँमा अलपत्र परेका छन् । कलङ्की, नयाँ बसपार्क, बल्खु, कोटेश्वर लगायतका चोकमा झरेका यात्रुहरुले गन्तव्यमा जान सार्वजनिक गाडी कुरेर बसे पनि पाउन सकेका छैनन् ।
यस्तै अत्यावश्यक कामले काठमाडौं बाहिर जानुपर्ने यात्रुहरु पनि चोकचोकमा अलपत्र परेका छन् । बाहिरी जिल्लाबाट हिजो छुटेका गाडी बिहानै काठमाण्डौ आइपुगे पनि काठमाडौंबाट छुट्ने गाडी भने नगण्य रहेका छन् ।बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ । चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो छ । प्रहरीले फाट्टफुट्ट सार्वजनिक गाडी चलिरहेको पनि जनाएको छ । सार्वजनिक गाडीको संख्या कम भए पनि निजी गाडी भने सामान्य रुपमा चलिरहेका छन् ।
काठमाडौं उपत्यकाबाट बाहिरिने गाडीहरू पनि निकै कम छन् । काठमाडौं उपत्यकाभित्र निजी कार र मोटरसाइकलहरू भने चलिरहेका छन् । तर ती पनि अघिल्ला दिनको तुलनामा कमै मात्र चलेका छन् । बन्दको क्रममा कुनै अप्रिय घटना नभएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । उनका अनुसार महाराजगञ्जबाट तीन जना र साँखुबाट दुई जना गरी पाँच जना बन्दकर्ता पक्राउ परेका छन् ।
प्रतिक्रिया