अर्थ-वाणिज्य

तरलता संकटले राष्ट्रिय संकट निम्तने बित्तिय क्षेत्रको संकेत



काठमाडौं ४ पुस – केही महिना पहिलेदेखि नै सुरु भएको र पछिल्लो समय चुलिएको तरलता अभावका कारण बैंक तथा वित्तिय संस्थाहरु अब कर्जा प्रवाह नै गर्न नसक्ने अवस्थामा पुगेका छन्।अहिले समग्र वित्तीय क्षेत्र तरलता संकटले त्राहिमाम छ। यसको मारमा सेवाग्राही झन् कतिसम्म परेका छन् भने व्यवसायीहरु २० लाख रुपैयाँ कर्जा माग्न क श्रेणीको बैंकमा पुग्दा पनि नपाउने अवस्था सिर्जना भएको छ।

एक व्यवसायीले भने, ‘मैले व्यक्तिगत व्यवसाय प्रयोजनको लागि २० लाख रुपैयाँको कर्जा माग्दै क श्रेणीको वाणिज्य बैंकका डेपुटी सीइओसम्मलाई गुहारेँ। उहाँसँग पुरानै सम्बन्ध रहेपनि कर्जा दिनै नसक्ने, बरु आफूसँग रहेको केही रकम सापटी दिन सक्ने निरीहता सुनाउनुभयो।’बैंकरहरुको संगठन, नेपाल बैंकर्स एसोसिएसनको मंसिर १७ गतेसम्मको तथ्यांक हेर्दा बैंकिङ क्षेत्रबाट ४० खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ भने ४२ खर्ब २१ अर्ब निक्षेप संकलन भएको छ। बैंकमा निक्षेप संकलन ६ वर्ष यताकै न्यून भएको छ। त्यस्तै कर्जा लगानी भने ६ वर्षयताकै उच्च भएको छ।

कसरी भयो तरलता संकट?
तरलता संकट योविघ्न चुलिनुको प्रमुख कारण अहिलेको नीतिगत अवस्था रहेको एक बैंकर बताउँछन्। नियामक निकायले विभिन्न क्षेत्रका लागि बनाएर लागू गरेका नीति तथा निर्देशनले अर्थतन्त्रलाई संकुचित बनाउँदै लगेको उनको टिप्पणी छ। उनी भन्छन्, ‘त्यहीकारण अहिले अर्थतन्त्र नै धरासायी बन्ने अवस्थामा पुगेको छ।’कोरोना महामारी सुरु भएसँगै बैंक तथा वित्तीय क्षेत्रमा तरलता थुप्रिएर बस्यो। ती बैंकरका अनुसार लामो लकडाउन खुलेपछि नेपाल राष्ट्र बैंकले पनि ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधाहरु दिन थाल्यो। त्यस्तै, पहिले कर्जा लिएका ऋणीलाई ऋण तिर्ने तथा पुनर्कर्जा लिन सक्ने व्यवस्थाहरु ल्यायो।

‘यसकारण व्यवसायीहरुले आक्रामक भएर कर्जा लिन थाले, बैंकले पनि भनेजति कर्जा दिँदै गयो। तर, बैंकमा पैसा भने आएन, बैंकबाट बाहिर जानेक्रम मात्र बढ्यो। चालु आर्थिक वर्षमा ६ वर्षयताकै सबभन्दा धेरै कर्जा लगानी भएको छ, ६ वर्ष यताकै न्यून निक्षेप संकलन भएको छ। बजारमा तरलता अभाव हुनुको एउटा कारण एउटा यही हो’, उनले भने।तरलता संकट आउनुको अर्को कारण अहिले रेमिट्यान्स घटेको छ। नेपालको अर्थतन्त्र धान्ने महत्त्वपूर्ण माध्यम बनेको रेमिट्यान्स घट्नुको असर पनि तरलतामामै आएर ठोक्किएको ती बैंकर बताउँछन्। गत आर्थिक वर्षको तीन महिनाको तुलनामा यस आर्थिक वर्षको तीन महिनामा (असोजसम्म) रेमिट्यान्स ७.५ प्रतिशत घटेको छ।
तरलता संकटको तेस्रो कारण सरकारको पुँजीगत खर्च कम हुनु हो। अहिले सरकारी खर्च घटेको छ। उनी भन्छन्, ‘चालु आर्थिक वर्षको पाँच महिनामा सरकारले ४ खर्ब १४ अर्ब रुपैयाँ बराबरको आम्दानी गरेको छ, खर्च भने १ खर्ब ३२ अर्बको हाराहारीमा मात्र भएको छ। यो पनि एउटा कारण हो।’यस्तै, चालु आर्थिक वर्षको चार महिनामा विदेशी मुद्राको सञ्चिति ११ प्रतिशतले घटेर १२ खर्ब ४४ अर्ब ८५ करोड रुपैयाँमा सीमित भएको छ। यसले पनि तरलतामा दबाव देखिएको उनको बुझाइ छ।

कुन क्षेत्र बढी प्रभावित?
तरलता संकटको असर सम्पूर्ण आर्थिक क्षेत्रमा परेको जानकारहरु बताउँछन्। बैंकहरुले अहिले अति आवश्यक भएका ऋणीलाई मात्र ऋण दिइरहेको नेपाल बैंकर संघका अध्यक्ष तथा कृषि विकास बैंकका कार्यकारी निर्देशक अनिल उपाध्याय बताउँछन्।तरलता अभाव भएकाले बैंकहरुले व्यवसायीलाई कर्जा दिन नसकेका वा भनेजति दिन नसकेका धेरै उदाहरण छन्। उनी भन्छन्, ‘कति बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) राष्ट्र बैंकले तोकेको विन्दुभन्दा माथि पुगेको छ। यस्ता बैंकले कर्जा लगानी गर्न सक्ने अवस्था छैन। केही बैंकको रेसियोले राष्ट्र बैंकको निर्देशन ननाघेकाले त्यहाँबाट भने केही कर्जा प्रवाह भइरहेको छ।’

प्रकाशित : ४ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६