समाचार

नेपालमै एक सय ७१ वर्षयता नदेखिएको दुर्लभ चरा इलाममा भेटियो



इलाम ७ पुस । नेपालमै एक सय ७१ वर्षयता नदेखिएको दुर्लभ चरा इलाममा भेटिएको छ। जिल्लाको सूर्याेदय नगरपालिका–१, गोर्खेको सिमढापमा होमराई धनेस (रिफुज नेक्ड हर्नबिल) भेटिएको हो।  

वाइल्डलाइफ फोटोग्राफर देवेन खरेलले मंगलबार होम्राई धनेशका दुई भालेको तस्बिर खिच्न सफल भएका हुन्। उनका अनुसार धनेश प्रजातिमा घाँटी रातो हुने यो चरा नेपालमा सन् १८५० यता देखिएको थिएन। यो चरा नेपालमा नदेखिएकै कारण चरासम्बन्धी किताबहरूको पहिलो पृष्ठबाटसमेत यसको तस्बिर हटाइसकिएको छ।  

तर, गोर्खे सिमढापको करिब १ हजार ३ सय मिटर उचाईमा देशमै पहिलोपटक यो चरा क्यामेरामा कैद भएको खरेलले दाबी गरे। ‘यसअघिसम्म यो चरा नेपालमा पाइन्छ भनेर पुस्तकमा लेखिएको भएपनि फोटो चाहिँ यो नै पहिलो हो,’ उनले भने, ‘मैले पनि ४–५ वर्षदेखि खोजिरहेको चराको आज फोटो खिच्न सफल भएको छु।’  

उनले चरा अध्ययनको क्षेत्रमा यसको तस्बिर खिच्न पाउनु ठूलो उपलब्धि भएको बताए। ‘यो क्षेत्रमा पक्कै पनि यो चरा पाइन्छ भन्ने लागेर खोजी गर्नकै लागि आएको थिएँ,’ उनले भने, ‘ठूलो सफलता हात लागेको छ।’ प्रायः यो चरा भालेपोथी भेटिनेमा यहाँ चाहिँ दुवै भाले चरा भेटिएको उनको भनाइ छ।  

चरा भेटिएको सिमढाप भारतीय सीमाबाट करिब १२ किलोमिटरमा पर्छ। भारत लाटपन्चरमा फाट्टफुट्टमात्र देखिने यो चरा हत्तपत्त कसैले देख्नै नसकेको उनले जनाए। ‘म चराहरू प्रकृतिका उपहार हुन्, बचाउनुपर्छ भनेर लागिपरेको छु,’ उनले भने, ‘चराले पर्यटन प्रवद्र्धनमा पनि उत्तिकै महत्व राख्छन्।’ नेपालमा ८ सय ८६ प्रकारका चरा पाइने गरेकामा देवेनले नै भेट्टाएको जंगली परेवा (ग्रिन इम्पाइरिकल प्रिजन) थपिएर यसको संख्या ८ सय ८७ पुगेको थियो। देवेनले जंगली परेवा झापाको मेचीनगर–७ मा फेला पारेका थिए।

करिब ३ दशकदेखि चराको अध्ययन गरिरहेका सोम जिसीले होमराई धनेस भेटिएकै हो भने निकै ठूलो उपलब्धि हासिल भएको बताए। ‘विश्वमै दुर्लभ भइसकेको यो चरा नेपालको पूर्वी भागमा पाइने सम्भावना चाहिँ छ तर सन् १९०० को शताब्दीदेखि नै यो चरा नेपालमा देखिएको थिएन,’ उनले भने, ‘यो चरा विश्वबाटै हराएर जाने चराको सूचीमा छ। नेपालमा भेटियो भने यो निकै महत्वपूर्ण हो।’

उनले यो चरा जंगलको सूचक पनि भएको बताए। ‘यो फिरन्तेखालको चरा हो, अलि फरक, सुरक्षित र उसका लागि स्वच्छ हावापानी भएको जंगलमा मात्र यो बस्छ,’ जिसीले भने, ‘चौडापाते एभरग्रिन जंगल यसले रुचाउँछ।’ आफूले भुटान र आसाममा यो चरा देखेको उनले बताए। ‘२५–३० वर्षदेखि चरा हेरिरहेको छु तर नेपालमा कतै यो पाउन सकिएको थिएन।’

सूर्योदय नगरपालिका–१ का वडासदस्य अमृत पाण्डेले आफ्नो ठाउँमा दुर्लभ चरा पाउनु खुसीको क्षण भएको बताए। ‘यहाँ चरा अध्ययन गर्नेहरू आइरहन्छन् तर आज चाहिँ महत्वपूर्ण उपलब्धि भएको छ,’ उनले भने, ‘यो हाम्रो वडा, नगर र इलामको लागिमात्र होइन, देशकै लागि महत्वपूर्ण छ।

प्रकाशित : ७ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६