अन्तर्राष्ट्रिय

विख्यात अनुसन्धानकर्ता वैज्ञानिक विल्सनको निधन



काठमाडौँ १३ पुस— जैविक विविधतासम्बन्धी विख्यात अनुसन्धानकर्ता एवं प्राध्यापक एड्वार्ड इ विल्सनको निधन भएको छ । आधुनिक युगका डार्बिन भनेर समेत चिनिने जीवशास्त्री विल्सनको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो । उनको निधनको खबर ईओ विल्सन बायोडाइभर्सिटी फाउन्डेसनले सोमबार मात्रै सार्वजनिक गरेको हो ।

हार्वर्ड विश्वविद्यालयमा ४६ वर्ष अध्यापन गरेका प्रा डा विल्सन किट विज्ञानका ज्ञातासमेत थिए । उनले प्राकृतिक छनोट र अन्य कारक तत्वहरूले जीवहरूको बानीमा के-कसरी असर गर्छ भन्नेबारे अनुसन्धान गरेका छन् ।
इभोलुसनरी बायोलोजीमा सन् १९५०को दशकदेखि काम गरे ल्सनले जैविक विविधताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका छन् । जैविक विविधताका अध्येता एवं नास्टका प्राज्ञ डा. दिनेशराज भुजु जैविक विविधताको महत्वलाई जनस्तरमा स्थापित गर्ने श्रेय विल्सनलाई जाने बताउँछन् । ‘यो विषयलाई हरेक राष्ट्रहरुको नीतिगत तहमा पुर्‍याउने महत्वपूर्ण योगदान विल्सनको रह्यो,’ उनले भने ।

विल्सनले विभिन्न क्षेत्रमा किन विविध प्रकारका प्रजाति पाइन्छन् भन्ने विषयमा पनि अनुसन्धान गरेका थिए । कमिलाको भौगोलिक अवस्था, पुराना प्रजातिबाट कसरी नयाँ प्रजातिको विकास भयो भन्ने सम्बन्धमा विल्सनको धेरै योगदान रह्यो ।

यी अमेरिकी जीवशास्त्रीले संरक्षणको क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिए । यस्तै, क्रम विकास(इभोलुसन) र किट विज्ञानमा पनि उनको उत्तिकै योगदान रह्यो ।

जैविक विविधेता अध्येता एवं अनुसन्धानकर्ता प्रकशचन्द्र अर्याल पर्यावरणमा हरेक चिजको पनि महत्वपूर्ण भूमिका हुने कुरा विल्सनले गरेको बताउँछन् । उनी भन्छन्,’ विल्सनको योगदानका कारण जैविक विविधतामा हरेक सानो जीवको पनि महत्वको बारेमा प्रष्ट्याइ भएको छ । उनले आइलेन्ड बायोजिओग्राफी थेउरी र जैविक विविधतामा पनि अन्य महत्वपूर्ण योगदान दिएका छन् । ‘

करिब ३० भन्दा बढी पुस्तक लेखेका उनले दुईपटक पुलित्जर पुरस्कार पाए । उनका पुस्तक ‘अन ह्युमन नेचर’ले १९७९ र ‘द एन्ट्स’ले १९९१ मा गैरआख्यान विधामा पुलित्जर पुरस्कार पाएको थियो । अमेरिकाको प्रतिष्ठित नेशन मेडल अफ साइन्स पदबाट सम्मानित वैज्ञानिक विल्सनलाई टाइम म्याग्जिनले सन् १९९५मा अमेरिकाका २५ शक्तिशाली व्यक्तिहरूको सूचीमासमेत राखेको थियो ।

एड्वार्ड ओसब्युर्न विल्सन(ई.ओ विल्सन)को जन्म सन् १९२९ मा अमेरिकाको अल्बामा भएको थियो । उनले अल्बामा विश्विवद्यालयबाट स्नातक र स्नातकोत्तर गरे । त्यसपछि हार्वर्डबाट पीएचडी गरे ।

बाल्यकालमा माछा मार्ने क्रममा आँखामा चोट लागेपछि उनी साना जीवतर्फ आकर्षित भएका थिए । आँखामा लागेको चोटका कारण ठूलो वस्तुहरु नजिकबाट हेर्न नसक्ने भएपछि साना वस्तुहरुमा उनको रुची थियो । त्यही बेला उनले कमिलाको अध्ययनमा लागेका थिए ।

कमिलाहरु संवाद गर्नका लागि ग्रन्थीबाट विशेष प्रकारको रसायन (फेरोमन एक्सिक्रिएसन) निकालेर संवाद गर्ने पत्ता लगाएका थिए । ‘फायर एन्ट’ को बारेमा उनले अमेरिकामा पहिलोपटक पत्ता लगाएका थिए । जुन कमिला पछि गएर अमेरिकाको दक्षिण क्षेत्रमा एक शत्रु जीवको रुपमा विकासित भएको थियो ।

त्रिभुवन विश्विविद्यालका प्राध्यापक इमिरेटस एवं जैविक विविधता विज्ञ प्राडा रामप्रसाद चौधरी विल्सनको निधन ‘संसारका लागि ठूलो घाटा’ को रुपमा लिनुपर्ने बताए । उनले विल्सन अहिलेको पुस्ताका डार्बिन भएको उल्लेख गर्दै सोसियल बायोलिजीमा महत्वपूर्ण योगदान रहेको बताए ।

प्रकाशित : १३ पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६