काठमाडौँ २५ पुस — यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा हुने भएको छ । कोरोना महामारीका कारण असारमा मात्र पठनपाठन सुरु भएकाले करिब एक महिना ढिलो गरी एसईई लिने तयारी गरिएको हो । नियमित तालिकाअनुसार चैतमा एसईई हुने गर्थ्यो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले ७७ वटै जिल्ला र पालिकाबाट चैतभरि पठनपाठन गर्ने सुझाव आएकाले एसईई वैशाखमा लिने निर्णय गरिएको बताए । यसअघि संसदीय समितिले एसईई परीक्षा ‘खारेज गर्न’ सुझाव दिएको थियो । तर कुनै पनि शैक्षिक तहको परीक्षा खारेजभन्दा परिमार्जन गर्न उपयुक्त हुने सुझाव विज्ञले दिएका थिए । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाबारे आन्तरिक गृहकार्य भइरहेको जनाए । नवनियुक्त अध्यक्ष शर्माले भने, ‘चाँडै बोर्ड बैठक बसेर निर्णय गर्छौं । त्यसपछि सूचना सार्वजनिक हुन्छ ।’
कोरोना महामारीका कारण दुई वर्षयता अनलाइन/भर्चुअल माध्यमबाट पठनपाठन सञ्चालन गरिँदै आएको छ । आर्थिक अवस्था कमजोर रहेका तथा दुर्गम भेगका विद्यार्थीको भर्चुअल कक्षामा पहुँच विस्तार हुन सकेको छैन । देशभरका विद्यालयले विद्यार्थीको मूल्यांकन गरी प्राप्तांक पठाएपछि त्यसैअनुसार परीक्षा बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशित गर्ने गरेको छ । गत वर्ष ५ लाख १७ हजार विद्यार्थी एसईईमा सामेल थिए । यो वर्ष परीक्षार्थी संख्या यकिन हुन बाँकी छ ।
मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७९ को पठनपाठन वैशाखमै सुरु गर्ने तयारी गरेको जनाएको छ । त्यसनिम्ति कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक छपाइ प्रक्रिया चलिरहेको छ । विद्यालय तहमा ७२ लाख जति विद्यार्थी पढ्छन् ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा प्रवक्ता गणेश भट्टराईका अनुसार आगामी शैक्षिक सत्रका निम्ति ४, ७ र ९ कक्षामा नयाँ पाठ्यपुस्तक लागू हुनेछ । ‘अनिवार्य पाँच विषयको पाठ्यपुस्तक नयाँ छापिन्छ,’ उनले भने, ‘४ र ७ कक्षाको सीआरसी (क्यामरा रेडी कपी) तयारी भएर छपाइका निम्ति जनक शिक्षामा पठाइसकिएको छ । अब कक्षा ९ का तीन विषयको सीआरसी बन्ने क्रममा छ । चाँडै पठाउँछौं ।’
जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले अन्य कक्षामा अघिल्लो वर्षमा छापिएका पुस्तकसमेत बाँकी रहेकाले यस पटक धेरै पाठ्यपुस्तक छाप्नु नपर्ने बताए । नियमानुसार शैक्षिक सत्र सुरु हुनु एक महिनाअघि पाठ्यपुस्तक छापिइसक्नुपर्छ ।
प्रतिक्रिया