प्रदेश

पूर्वराजा ज्ञानेन्द्रद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्णसहित पुष्पहार अर्पण



काठमाण्डौ, २७ पुष । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको छ । आज मङ्गलवार राष्ट्रिय एकता दिवस तथा ३०० औँ पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा शाहले सिंहदरबारको पश्चिम मूलगेटमा रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्णसहित पुष्पहार अर्पण गर्नुभएको हो ।

त्यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्ष कमल थापाले पनि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणसहित पुष्पहार अर्पण गर्नुभयो ।

पृथ्वी जयन्तीको अवसरमा काठमाण्डौसहित देशभरका विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइएको छ । त्यस अवसरमा काठमाण्डौमा भने साँस्कृतिक झाँकीसमेतको र्‍याली प्रदर्शन गरिएको छ ।

र्‍यालीमा उपस्थित भएकाहरूले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा नदिनु दुःखको कुरा भएको गुनासो गरेका छन् । उनीहरूले आफूहरू नेपाली हुनुको कारण पृथ्वीनारायण शाह भएको र त्यसमा गर्वबोध हुने गरेको बताउँछन् । आफू नेपाली हो भन्नेहरूका लागि आजको दिनको ठूलो औचित्य रहेको उनीहरूको भनाइ छ । राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहले गरेको त्याग मेटेर नमेटिने तर्कसमेत र्‍यालीमा सहभागीहरूले गरेका छन् ।

विक्रम संवत् १७७९ पुस २७ गते गोरखामा जन्मिनुभएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र दूरदृष्टियुक्त पाइन्छ ।

प्रकाशित : २७ पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६