काठमाडौँ, ०३ माघ । प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि आज मतदान हुने भएको छ । प्रदेश सभाका सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले साझा प्रस्ताव ल्याउन विफल भएपछि दोस्रो पटक नाम र राजधानी टुंगो लगाउन मतदान प्रक्रिया अपनाउन लागिएको हो ।
दल तथा सांसदको आ–आफ्नै अडानका कारण समितिले नाम र राजधानीसम्बन्धी केही प्रस्ताव परिमार्जन गरेर घटाए पनि सहमति हुन सकेन । आइतबार बसेको प्रदेशसभा बैठकमा विशेष समितिको तर्फबाट प्रतिवेदन सार्वजनिक गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले गोप्य मतदानमा जानुपर्ने सहितका ६ वटा निष्कर्ष निकालिएको बताउनुभएको थियो ।
आज बिहान ११ बजे बोलाइएको प्रदेशसभा बैठकमा राजधानी तथा नामाकरणसमबन्धीका प्रस्तावमाथि जारी छलफलपछि राजधानी टुंग्याउन पहिले मतदान हुने बताइएको छ । सत्तारूढसँगै विपक्षी दल तथा सांसदहरु विभाजित भएकाले दोस्रो पटक हुन लागेको मतदानबाट समेत राजधानी र नामाकरण टुंगो लाग्ने सम्भावना भने कम रहेको बताइएको छ ।
यसअघि चैत २०७६ मा पनि नाम र राजधानी टुंग्याउन गरिएको कुनै प्रस्तावमा दुई तिहाई मत पुग्न सकेको थिएन । प्रदेशको नाम र राजधानी टुंग्याउन प्रदेश २ का कुल १०४ सांसद्को दुई तिहाई मत आवश्यक पर्छ ।
प्रतिक्रिया