काठमाडौं ४ माघ । कोरोना महामारीको पहिलो भन्दा दोस्रो लहर भयावह रहृयो । अक्सिजन तथा अस्पतालमा बेड नपाएर धेरै नेपाली नागरिकले ज्यान गुमाउनुपर्यो । अहिले ओमिक्रोन भेरियन्ट आएसँगै तेस्रो लहर शुरु भएको छ, तर सरकार अझै पनि संवेदनशील नभएको बताउँछन् जनस्वास्थ्यविद्हरू ।उनीहरूका अनुसार अहिले पनि महामारी नियन्त्रणका लागि सरकारले गर्न सक्ने कामहरू थुप्रै छन्, तर सरकार गम्भीर देखिएको छैन । संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्, ‘व्यवस्थापकीय र राजनीतिक संयन्त्र असफल जस्तो देखिएको छ ।’सरकारले प्रभावकारी भनेको खोप अभियानमा समेत उनले प्रश्न उठाएका छन् । कोरोना खोपको गुणस्तरमा त सरकारले जनतामाथि ठूलो घात नै गरेको बताउँछन् । डा. सुवेदी भन्छन्, ‘यो खोप डेल्टा विरुद्ध नै एकदमै कम प्रभावकारी देखिएको छ भने ओमिक्रोनमा कति प्रभावकारी होला थाहा छैन ।’
प्रस्तुत छ, संक्रामक रोग विशेषज्ञ डा. सुवेदीसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीको सम्पादित अंश :
तीन/चार महीना अगाडि जाने हो भने हामीकहाँ डेल्टा भेरियन्टको संक्रमण घट्दै गएको थियो । तर फेरि जाडो मौसममा सानो लहर आउँछ भन्ने अनुमान थियो । किनभने अमेरिका र युरोपियन देशहरू, जहाँ सबैलाई खोप दिंदा पनि डेल्टाले नै पुनः आक्रमण गर्ने र अर्को लहर आउने गरेको देखिएको थियो । त्यस्तो किन हुँदोरहेछ भन्दा पहिला संक्रमणका कारण होस् वा दुवै डोज खोप लगाएका कारण होस् ! हाम्रो शरीरले भाइरस विरुद्ध रोग प्रतिरोधी क्षमता बनाएको हुन्छ, त्यो ५/६ महीनापछि घट्दै जाने रहेछ । र, पुनः संक्रमण हुने जोखिम बढी हुन्छ । विशेषगरी, रोगप्रतिरोधी क्षमता कम भएका तथा दीर्घ रोग भएका मानिसलाई डेल्टाले नै पुनः संक्रमण गर्न सक्ने रहेछ ।
त्यसैले हामीले नेपालमा पनि जाडोमा त्यस्तै खालको सानो लहर आउँछ होला भनेर अनुमान गरेका थियौं । हामीकहाँ सबैले खोप त पाएका छैनन्, तर दोस्रो लहरका क्रममा डेल्टाले झण्डै ८० प्रतिशत मानिस संक्रमित गराइसकेको थियो । त्यसकारण डेल्टाप्रति त्यति डर थिएन । सानो लहर आउँदा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा पुनः संक्रमण देखिन सक्छ भन्ने आकलन थियो । तर ओमिक्रोन आएपछि सबै हिसाबकिताब फेरिए ।किनकि डेल्टा भेरियन्टले पहिल्यै संक्रमण भएका अधिकांश मानिसलाई पुनः संक्रमण गर्ने क्षमता राख्दैनथ्यो । रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई पुनः संक्रमण गर्ने क्षमता डेल्टाको भन्दा तीनदेखि पाँच गुणा बढी देखियो । खोप लगाएका मानिसलाई पुनः संक्रमण गर्ने सम्भावना बढी देखियो । एस्ट्राजेनेका वा कोभिशिल्ड खोप लगाएका मानिसहरू ओमिक्रोन भेरियन्टको संक्रमणबाट जोगिन सक्ने सम्भावना पाँच प्रतिशत मात्र छ ।
सिकिस्त हुने सम्भावना धेरै कम छ । यसको दुई कारण छ, एउटा भाइरसको आफैं क्षमता कमजोर छ । ओमिक्रोन भेरियन्टमा संक्रमण भएपछि सिकिस्त बनाउने क्षमता डेल्टाभन्दा १० प्रतिशत कम छ । अर्को सिकिस्त हुने सम्भावना विरुद्ध एस्ट्राजेनेका वा कोभिशिल्ड खोप ५०/६० प्रतिशत प्रभावकारी छ ।तर सम्पूर्ण समुदाय संक्रमणको जोखिममा पर्ने भएकाले अन्य लहरको जस्तै समस्या भोग्नुपर्ने हुनसक्छ । किनकि ओमिक्रोन भेरियन्टमा संक्रमित दोब्बर हुँदै जाने अवधि डेढदेखि दुई दिनको मात्रै देखिएको छ । यसले गर्दा थोरै मानिस सिकिस्त हुने भए पनि दुई-दुई दिनमा दोब्बर हुँदै जाने देखिन्छ । जबकि अस्पताल पुगेका अक्सिजन चाहिने संक्रमितहरू सात-दश दिन नभई आईसीयू वा भेन्टिलेटरबाट डिस्चार्ज हुँदैन । त्यसकारण अस्पतालमा बेड अभाव हुन सक्छ ।
हामी आफैं खोपको उत्पादन गर्न नसक्ने भएकाले शुरुमा दिनमा अरूले खटाएर कति दिन्छन् भनेर त्यसमा भर पर्नुपर्ने अवस्था थियो । तर यहाँ त व्यवस्थापकीय समस्या थुप्रै देखिए । करोडौं खोप भण्डारणमा हुँदा पनि सिरिञ्ज अभावका कारण कतिपय ठाउँमा खोप अभियान नै स्थगित गर्नुपर्यो ।अर्को, भ्याक्सिनको गुणस्तरमा सरकारले साँच्चै जनताप्रति बेइमानी गरेको छ । विश्व स्वास्थ्य संगठनले जुन-जुन खोपलाई अनुमति दिएको छ, अधिकांश शुरूमा अमेरिका-युरोपमा फैलिएको भाइरसमा कति प्रभावकारी छन् भन्ने आधारमा विकास गरिएको थियो । केही चाहिं अल्फा सम्बन्धी डेट हेरिएको छ । सिनोफार्म, सिनोभ्याक पुरानो डेटाका आधारमा स्वीकृत भएका खोप हुन् ।
त्यसपछि डेल्टा भेरियन्ट आयो । चीनमा उत्पादित खोपहरूले डेल्टा विरुद्ध एकदमै कम प्रभावकारी देखिएका छन् । एक त चीनबाट उत्पादित भएका खोपको तथ्यांक हालसम्म प्रकाशित नै छैन भन्दा हुन्छ । किनकि प्रायः गरीब देशहरूले चीनबाट उत्पादित खोपहरू अनुदान वा खरीद गरेर प्रयोगमा ल्याएका छन् । त्यहाँ खोप कति प्रभावकारी छ भन्ने तथ्यांक निकाल्न जस्तो चुस्त संयन्त्र चाहिन्छ, त्यो छैन । अर्को, भ्याक्सिनले काम गरेको देखियो भने प्रकाशित गर्ने, प्रभावकारी नदेखिए प्रकाशित नगर्ने ट्रेण्ड पनि छ । चीन शक्तिशाली राष्ट्र भएकाले उसलाई कसैले चिढ्याउन पनि चाहँदैन ।सरकार त जनतासँग इमानदार हुनुपर्थ्यो नि ! तर हामीकहाँ अधिकांश मानिसलाई भेरोसेल खोप दिइएको छ । नीति निर्माण तहमा बस्ने सबैले एस्ट्राजेनेका वा कोभिशिल्ड लगाएका छन् । अनि जनतालाई चाहिं भेरोसेल लगाएका छौं । यो खोप डेल्टा विरुद्ध नै एकदमै कम प्रभावकारी देखिएको छ भने ओमिक्रोनमा कति प्रभावकारी होला थाहा छैन । भेरोसेल प्रभावकारी छैन भन्ने थाहा भएपछि विश्व स्वास्थ्य संगठनले ज्येष्ठ नागरिकलाई दुई डोज मात्र पुग्दैन, तेस्रो डोज पनि अनिवार्य रूपमा दिनुपर्छ भनेको छ । तर हामी अहिले भर्खर गर्दैछौं । त्यसैले खोपमा सरकारले जनतामाथि ठूलो घात गरेको छ भन्छु ।
प्रतिक्रिया