अर्थ-वाणिज्य

विद्यार्थीबाट अतिरिक्त शुल्क लिने नोबेल र मेडिकल कलेज केएमसीलाई कारबाही गर्न गृह मन्त्रालयमा सिफारिस



काठमाडौँ ८ माघ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीबाट अतिरिक्त शुल्क लिने नोबेल र काठमाडौं मेडिकल कलेज केएमसीलाई कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेलले गृहमन्त्री बालकृष्ण खाँणलाई नोबेल र केएमसी मेडिकल कलेजले शिक्षा मन्त्रालयको निर्णय र निर्देशन उल्लंघन गरेकाले गृह प्रशासनमार्फत कारबाही अघि बढाउन आग्रह गरेका हुन् । शुक्रबार गृह मन्त्रालयले पीडित विद्यार्थी, ७ विद्यार्थी संगठनको प्रतिनिधि र शिक्षामन्त्रीसहित छलफल गरेको थियो । छलफलका क्रममा शिक्षामन्त्री पौडेलले निर्णय र निर्देशन उल्लंघन गर्ने कलेजलाई स्थानीय प्रशासनमार्फत कारबाही गर्नुको विकल्प नरहेको औंल्याएका थिए । उनले यसअघि पनि गृहमन्त्री खाँणलाई भेटेर र टेलिफोनमा पनि मेडिकल कलेज संचालक र अतिरिक्त शुल्क असुल्न संलग्नलाई कारबाही गर्न जोड दिँदै आएका छन् । ‘म विद्यार्थीको पक्षमा छु, राज्यलाई नै अटेरी गर्ने, विद्यार्थीबाट मनोमानी शुल्क उठाउने कलेजलाई कारबाही हुनुपर्छ,’ शिक्षामन्त्री पौडेलले भने ।

उनको आग्रहपछि गृहमन्त्री खाँणले मेडिकल कलेजलाई कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छलफलमा सहभागी नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए । ‘शिक्षामन्त्रीले गृह मन्त्रालयले कारबाही अघि बढाउनुपर्ने राय राख्नुभयो,’ उनले भने, ‘गृहमन्त्रीले कारबाहीको प्रक्रिया प्रारम्भ भयो, विद्यार्थीलाई प्रशासनमा उजुरी गर्न लगाउनुस् भन्नुभएको छ ।’ गृहमन्त्रीले कारबाही प्रक्रिया अघि बढाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिने आश्वसनसमेत दिएको छलफलममा सहभागीहरुले बताए । यसअघि पनि गृहमन्त्रालयले अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न १२ जिल्लाका प्रजिअहरुलाई निर्देशन दिएको थियो । तर कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन । यी दुई मेडिकल कलेजका विद्यार्थी मंसिर १९ गतेदेखि आन्दोलनमा छन् । विद्यार्थीले अतिरिक्त शुल्क मागेको विषयमा काठमाडौं, भक्तपुर र मोरङ प्रशासनमा प्रमाणसहित उजुरी दिइसकेको छन् ।

केएमसी र नोबेल मेडिकल कलेजका संचालक सुनील शर्मा कांग्रेस मोरङका नेतासमेत रहेकोले कांग्रेस नेतृत्वको सरकार कारबाही गर्न पछि हटेको पीडित विद्यार्थी र अभिभावकको गुनासो छ । शर्मा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् भने २०७४ को निर्वाचनमा मोरङबाट उम्मेदवारसमेत बनेका थिए । शर्माले गत शुक्रबार शिक्षा मन्त्रालयले गरेको निर्णयमा फरक मत राख्दै अवज्ञा गर्दै आएका छन् । मन्त्रालयले सर्वपक्षीय बैठक डाकेर चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिन नपाइने, होस्टल ऐच्छिक बनाउनुपर्ने र होस्टलको शुल्क अभिभावक, विद्यार्थीसँगको आपसी समझदारीमा कायम गरिनुपर्ने निर्णय गरेको छ । शर्माले मन्त्रालयको उक्त निर्णय नमान्ने ठाडो चुनौती दिँदै आएका छन् ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले सरकारको निर्णय र निर्देशनसमेत उल्लंघन गर्ने मेडिकल कलेज संचालकलाई गिरफ्तारी गरी कारबाही अघि बढाउनुपर्ने बताए । ‘शिक्षामन्त्री र गृहमन्त्रीलाई सँगै राखेर कारबाही थाल्न अनुरोध गरेका छौं,’ उनले भने, ‘गृहमन्त्रीले कानुनबमोजिम कारबाही गर्ने वचन दिनुभएको छ ।’ अपराध गर्नेलाई राजनीतिक आवरणमा ढाकछोप गर्न नहुने उनले बताए ।

अखिल (क्रान्तिकारी)की पञ्चा सिंहले शिक्षामन्त्रीले लिखित र मौखिक रुपमा गृह मन्त्रालयलाई कारबाहीको अनुरोध गरिसकेकोले प्रक्रिया अघि बढाउनुपर्ने जनाइन् । ‘पीडित विद्यार्थीले जीवनरक्षाको लागिसमेत गृह मन्त्रालयमा उजुरी दिएका छन्,’ उनले थपिन्, ‘कलेज प्रशासनले बढी पैसा माग्दै उल्टो धाकधम्की र मानसिक तनाव दिएको छ ।’ शिक्षा मन्त्रालयको निर्णय र निर्देशन नमान्ने कलेजलाई अबिलम्ब कारबाही गनुपर्ने उनको जोड छ ।

समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले खुलेआम राज्यलाई नै चुनौती दिने मेडिकल कलेज संचालकलाई किन कारबाही नभएको हो ? र कहिले कारवाही हुन्छ भनेर गृहमन्त्री र शिक्षामन्त्रीलाई प्रश्न गरेको जनाए । ‘गृहमन्त्रीले कानुनसम्मत कारबाही हुने बताउनुभएको छ, सरकारले चाँडो कारबाही थालेर विद्यार्थीलाई पठनपाठनको वातावरण बनाउन माग गरेका छौं,’ उनले भने ।

पीडित विद्यार्थीले डेढ महिनादेखि पठनपाठन गर्न पाएका छैनन् । कलेज प्रशासनले उल्टो ८० प्रतिशत कक्षा हाजिरी नपुगे परीक्षाबाट वञ्जित गराउने चेतावनी दिएको उनीहरुले बताए । ‘शिक्षा मन्त्रीले गृहमन्त्रीसँग कलेजले हामीलाई टेरेन भन्नुभएको छ, अब गृहले कारबाही गरेर न्याय दिन्छ भन्नेमा छौं,’ छलफलमा उपस्थित पीडित विद्यार्थीले भने ।

नोबेल कलेजका १० जना विद्यार्थी थप आन्दोलनका लागि शुक्रबार काठमाडौं आएर केएमसीका विद्यार्थीसँगै माइतीघरमा प्रदर्शन थालेका छन् ।

प्रकाशित : ८ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६