काठमाडौं १० माघ । आइतबार चितवन राष्ट्रय निकुञ्जको वरण्डाभार वन क्षेत्रमा सडकमा निर्माणाधीन नालीमा फसेर दुर्लभ एकसिङ्गे गैंडा मर्यो । वन्यजन्तु करिडोरमा लापरवाहीपूर्ण तवरले सडक विस्तार गर्दा गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जले नै बताएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार आवश्यक मापदण्ड र प्रक्रिया नपुर्याई काम भएको भन्दै निकुञ्जले सडक डिभिजन कार्यालय चितवनलाई पत्र नै काटेको छ ।
प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन नगरी, रुख कटानको अनुमति तथा कुनै राय समेत पनि नलिई सडक निर्माण गरेको र वन्यजन्तुको सुरक्षामा ध्यान नै नदिई निर्माणको काम हुँदा वन्यजन्तु असुरक्षित भएको निकुञ्जको ठहर छ ।
१५ चैत २०७७मा चितवनकै ठोरीमा हुलाकी सडकमा बाघ र अटो ठोकिन पुग्दा दुर्घटना भएको थियो । अटो पल्टिएपछि भागेकाले घाइते बाघको स्वास्थ्य अवस्था पत्ता लाग्न सकेन । त्यसअघि १८ पुस २०७७मा बारा, जितपुर सिमरा उपमहानगरपालिका-१ आधाभार जंगलमा कारसँग ठोक्किएर १० वर्षको पोथी बाघ मरेको थियो ।
वासस्थल, ओहोदोहोर (जैविक) मार्गसहित सुरक्षा पक्षलाई ध्यान दिएर ‘क्रसिङ’हरु नराखी विकासे पूर्वाधारहरू बनाइँदा प्राकृतिक विचरणकै क्रममा जीवजन्तुहरू मृत्युको मृत्युको मुखमा पुगिरहेका छन् । यस्ता कारणाले मान्छेको सहजताका लागि बनेका पूर्वाधारहरू वन्यजन्तुका लागि ‘पासो’ बन्दैछन् ।
मुख्यगरी तराईका राष्ट्रिय निकुञ्जको घना जंगल चिरेका राजमार्गमा पछिल्ला वर्षमा वन्यजन्तुहरु दुर्घटनामा पर्ने क्रम बढेको छ । पशु अधिकारकर्मीहरु वन्यजन्तुको ओहोरदोहोर हुने मुख्य वन क्षेत्रको सडकमा निर्माण कार्य गर्दा वन्यजन्तुमैत्री नहुँदा यस्ता घटना भएको बताउँछन् ।
बढी वन्यजन्तु ओहोरदोहोर हुने क्षेत्रमा सडक मुनिबाट वन्यजन्तु हिड्न अन्डरपास र सडक माथिबाट वन्यजन्तु हिड्ने ओभरपासको बनाउनतर्फ ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार कुल १०२८ किलोमिटरको पूर्व-पश्चिम राजमार्गको करिब २०० किमि खण्ड निकुञ्जभित्र पर्छ । बाँके राष्ट्रिय निकुञ्जमा करिब सय किलोमिटर, बर्दिया राष्ट्रिय निकञ्जमा ३० किमि, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ८ किमि, पर्सामा २० किमि र चितवनमा ५ किमि राजमार्ग पर्छ ।
यसबाहेक राजमार्गको थप २०० किलोमिटर वन्यजन्तुको मुख्य बासस्थानका रुपमा रहेका जंगलभित्रै पर्छन् । घना वन क्षेत्र भएर जाने मध्यपहाडी, मदन भण्डारी, हुलाकी, उत्तर-दक्षिण करिडोर राजमार्गसहित रणनीतिक तथा ग्रामीण सडकहरुमा पनि यही समस्या छ। । करिब एक लाख किलोमिटर सडक सञ्जाल रहेको नेपालमा कति किमि वन क्षेत्रबाट गुजि्रन्छ र त्यसमध्ये कति क्षेत्र वन्यजन्तुको जैविक करिडोरमा पर्छन् भन्ने अध्ययन भने भएको छैन ।
राजमार्ग, विभिन्न आयोजनाका पहुँचमार्ग र ग्रामीण सडकहरु बनाउँदा मुख्य गरी मुआब्जा विवाद छल्न वन क्षेत्र नै रोज्ने गरिएको छ । पछिल्लो समयमा कच्ची सडकहरुले पक्की रुप लिने क्रम पनि बढेको छ । यसले गर्दा वन्यजन्तुमाथि दिनदिनै खतरा बढेको विभागको ठहर छ ।
वन्यजन्तुका लागि फराकिलो कालोपत्रे सडकमा तीव्र गतिमा चल्ने सवारी ठूलो खतरा बनेका छन् भने निकुञ्ज क्षेत्रभित्र तोकिएको गतिमा गुड्दा यात्रु पनि वन्यजन्तुको आक्रमणमा पर्ने जोखिमको अवस्था छ । निर्माणको क्रममा पर्याप्त सावधानी नअपाउनेदेखि निर्माणपछि पूर्वाधारलाई वन्यजन्तु मैत्री बनाउनेसम्मका पक्षमा सरकार चुकिरहेको छ ।
प्रतिक्रिया