काठमाडौँ १८ माघ — सन् २०२० को पहिलो लकडाउनपछि अनुसन्धानकर्ता मोहन विक्रम श्रेष्ठ काभ्रेको पनौतीमा चरा सर्वेक्षणका लागि गएका थिए । रोसी खोला क्षेत्रमा सर्वेक्षण गर्ने क्रममा उनको ध्यान एउटा ढुंगामा पर्यो । कुनै जीवले दिसा गरेको जस्तो देखिन्थ्यो । दिसामा माछाका काँडाहरु थिए । श्रेष्ठले ओंतको दिसा हुन सक्ने अनुमान गरे । स्थानीयसँग सोधखोज गर्दा त्यस क्षेत्रमा ओंत देखिने गरेको बताए । दिसाओंतकै हो भन्नेमा उनी विश्वस्त भए ।
स्थानीयसँग कुरा गर्दै जाँदा एकजना हाँस पालक कृषकको टिहुरा ओंतले खाइदिएपछि प्रतिशोधको भावनामा ओंत मारिएको थाहा भयो । ओंतको महत्वबारे अनविज्ञ ती कृषकलाई यसबारे बुझाएपछि श्रेष्ठलाई मारेर फालिएको ओंत देखाइदिए ।
सढेगलेको अवस्थामा ओंतको कंकाल रोसी खोला नजिकै भेटियो । खप्परसहितको आधा भाग मात्रै थियो,अन्य कंकाल चिनिने खालका थिएनन् । ‘कंकालको खप्पर कुकुरको जस्तै देखिन्छ,’ श्रेष्ठले भने,‘मानिसहरुले कुकुरको भनेर त्यति चासो दिएका रहेनेछन् ।’
खप्पर ओंतकै भएपनि श्रेष्ठले कतै युरेसियन ओटर(कालो ओंत)को त हैन भन्नेमा शंका भयो । अमेरिकाको अमेरवन्यजन्तुको कंकाल अध्ययन/अनुसन्धानमा विशेषज्ञता हासिल गरेका अनुसन्धानकर्ता क्रिस जे ललाई कंकालको फाटोसहितको तस्बिर पठाएर पहिचान गर्नका लागि सहयोग मागे । क्रिसले पनि चासो देखाएर श्रेष्ठलाई अनलाइनमार्फत नै उक्त खप्पर सफा गरेर पहिचान गर्ने तरिका सिकाइदिए ।
उक्त कंकालको ‘क्रयानियोमेन्डिबुलर’का विभिन्न १२ वटा नाप लिए । टाउको आकार,दुई आखाको हड्डिबीचको दुरी,नाकको दुलोलगायतका अन्य भागका नापबाट कालो ओंत नै भएको पुष्टि भयो । पहिचान गर्न करिब एक वर्ष समय लाग्यो ।
कंकालको पहिचान हुने क्रममै रहेका बेला २०२१को जुनमा जाजरकोटको बारकाटे गाउँपालिकास्थित बारकोट खोलामा त्यहाँका संरक्षणकर्मी गोविन्द सिंहले क्यामेरा ट्रायप राखेको थिए । क्यामेरामा ओंतको तस्बिर कैद भएपछि सिंहले प्राध्यापक करन शाहलाई यसबारे जानकारी गराए । शाहले श्रेष्ठलाई तस्बिर पहिचानका लागि आग्रह गरेपछि,कालो ओंत नै भएको पुष्टि भयो । ‘ ओंतको बाहिरी आवरण,नाप र मेरो अनभुवको आधारमा कालो ओंत नै हो भन्नेमा म ढुक्क भएँ,’ श्रेष्ठले कान्तिपुरसित भने ।
त्यही महिना रुकुमको सानो भेरी खोला त्यही महिना एउटा घाइते बच्चा ओंतलाई स्थानीयले फेला पारे । पुच्छरमा घाउ भएको उक्त ओंतको तस्बिर त्यहाँका स्थानीय मदन खड्काले पठाए । तस्बिर पहिचानका लागि सदस्य मेलिसा साभेजलाई पठाइयो । त्यसपछि उनले पहिचान समूहबाट पठाएपछि कालो ओंतकै हो भन्ने पुष्टि भयो । उक्त घाइते ओंतलाई उपचारपछि प्रहरीको रोहबरमा नदी क्षेत्रमा छाडिएको थियो ।
त्यसअघि सन् २०२०मा श्रेष्ठले सानोभेरी, उत्तरगंगा र तेल्मा खोलामा ओंतका दिशा(स्क्याट),माछाको आधा भाग भेटिएपछि उनी ओंत छ भन्नेमा ढुक्क थिए । स्थानीयलाई जानकारी गराउँदै ओंत देखिए तस्बिर लिन उनले आग्रह गरेका थिए ।
काभ्रे, जाजरकोट र रुकुमा भेटिएका यी प्रजाति युरेसियन ओटर (कालो ओंत) हन् । केही दिनअघि यसबारेको विस्तृत अनुसन्धान विवरण आईयूसीएन गरिएको थियोे ।
‘विरलै देखिने यो जीव चोरी सिकारी या अन्य कारणले गर्दा पनि नेपालबाट हरायो कि भन्नेमा हाम्रो अन्योल थियौं,’ श्रेष्ठले भने,‘राम्रोसँग नखोजेर/अनुसन्धान नहुँदा यो जीव अभिलेख हुन सकेको रहेनछ,’ उनले कान्तिपुरसँग भने । ओंत भेटिएपछि श्रेष्ठसहित अन्य अनुसन्धानकर्ताहरु यतिबेला उत्साहित छन् ।
कालो ओंत नेपालमा सन् १९९१मा पोखराको रुपा र बेगनास तालमा प्राध्यापक पारसमणि आचार्य र जुद्धबहादुर गुरुङले अभिलेख गरेका थिए । त्यसपछि सोही ठाउँमा सन् २००८मा ज्योति भण्डारी र ध्रुव विजय जिसीको समूहले खोजी गर्दा अभिलेख भएको थिएन । २०१८मा आरती बस्नेतले रुपा र बेगनास तालमा पनि ओंतको खोजी गरेकी थिइन् तर भेटिएको थिएन ।
नेपालमा कालो ओंत(युरेसियन ओटर), खैरो ओंत(स्मुथ कोटेड ओटर) र सानो ओंत(एसियन स्मल क्लड ओटर) गरेर तीन प्रकारका ओंत पाइने गरिएको अभिलेख छ । कालो ओंत आईयूसीएनले निकट भविष्यमा लोप हुन सक्ने प्रजातिको सूचीमा राखेको छ । कालो र खैरो ओंत साईटीसको अनुसूची १ मा छ । सानो ओंत अनुसूची २ मा छ । सानो ओंत बेलयाती अन्वेषक हड्सनले अभिलेख गरेका थिए । त्यसपछि नेपालमा अझै यो प्रजाति देखिएको छैन । खैरो ओंतको अभिलेख शुक्लाफाँटा,बाँके,कोसी, बर्दिया, चितवनलगायतका क्षेत्रमा अभिलेख गरिएको छ ।
ओंत जैविक पारिस्थितिकीय प्रणालीमा महत्वपूर्ण भूमिका खेल्ने एक मासांहारी जीव हो । जल र जमिनबीचको पौष्टिक चक्रलाई सन्तुलन राख्ने ओंतलाई परास्थितिक प्रणालीको सूचकका रुपमा लिने गरिन्छ । विशेष गरेर सुनसान भएका बेला यिनीहरु आहारको खोजी गर्न निस्कन्छन् । नदी किनारका झाडीहरु यिनको मुख्य बासस्थान हो । नदी किनार र सीमसार क्षेत्रहरुमा यी जीवहरु पाइए उक्त क्षेत्र सफा र स्वच्छ भएको रुपमा लिइन्छ ।
कालो ओंत अभिलेख भएको बारेमा प्राध्यापक आचार्यले सकरात्मक संकेत भएको बताए । उनले कान्तिपुरसँग भने,‘यो ओंत भेटिनु राम्रो संकेत हो । अब यसको सर्भेलाई बढाउनुपर्छ । उसैपनि ओंत संरक्षणको क्षेत्रमा नेपालमा अनुसन्धान कम छ । अब यसको अध्ययनलाई व्यापाक बनाउनुपर्छ ।’
ओंत कसरी छुट्याउने
ओंतको खोजी गर्ने अनुसन्धानकर्ताहरु प्राय: यसको दिसाबाट छुट्टयाउँछन् । ओंतको दिसामा प्राय:काँडा हुन्छ । दिसामा काँडा हुँदा यो जीव रहेको अनुमान गरिन्छ । प्राय:यिनले माछा खाएर छाडोको भाग भेटिँदा यसको उपस्थिती हुन सक्ने अनुमान अनुसन्धानकर्ताहरु गर्छन् । हातको पञ्जाबाट पनि अभिलेख गरिने प्राध्यापक आचार्यले बताए ।
ओंतको दिसा आशंका गरेर त्यसको डीएनए परीक्षणबाट पुष्टि गर्नका लागि नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान(नास्ट)सँग श्रेष्ठको टोलीले अध्ययन पनि गरिरहेको छ ।
नेपालमा खैरो ओंत धेरै अभिलेख गरिएको छ । यिनीहरुको टाउको कालो ओंतको तुलनामा ठूलो हुन्छ । कालो ओंतको थुतुनो तारा आकारका हुने अनुसन्धानकर्ता श्रेष्ठले बताए । कालो ओंतको रंग हलुका कालो हुन्छ । सानो ओंत सानो आकारको हुने उनले जनाए । यस्तै,यिनीहरुको पञ्जा र नंग्राबारे पनि अनुसन्धानकर्ताहरु प्रजाति छुट्टयाउछन् । टाउकोमा पाइने हड्डीबाट पनि पहिचान गर्ने गरिएको छ ।
जल प्रदूषण र बास विनासका कारण खतरामा
नेपालमा ओंतको अध्ययन र अनुसन्धान कम छन् । सँगै यसको संख्या पनि घट्दो अवस्थामा रहेको विभिन्न अनुसन्धानहरुले देखाएका छन् । हिस्ट्रिक्स जर्नलमा सन् २०१०मा प्राध्यापक आचार्यले चितवन निकुञ्ज र नारायणी नदी क्षेत्रबाट ओंत देखिन छाडेको उल्लेख छ । विगतका अनुसन्धानहरुले नारायणी, कर्णाली र महाकालीमा ओंतहरु पाइने उल्लेख गरेपनि ती क्षेत्रहरुमा अनुसन्धान हुन सकेका छैनन् । त्यसपछि सन् २००८मा र २०१८मा चितवनमा गरिएका अनुसन्धा ती तालमा खोजी गर्दा ओंत अभिलेख हुन सकेको थिएन ।
औद्योगीकरणसँगै नदीमा प्रदूषण बढेपछि ओंतहरु पनि हराउँदै गएका छन् । जलीय प्रदूषणका कारण माछालगायतका जीवहरु मरेपछि यसको संख्या घट्दै गएको अनुसन्धानकर्ताहरु बताउँछन् । मुख्य आहारा माछा भएपनि ओंतले भ्यागुता,चरा तथा किरालगायतका अन्य स–सना जीवहरु पनि खाने गर्छ । नदी क्षेत्रमा जथाभावी उत्खनन् र खानी सञ्चालनजस्ता क्रियाकलापले यो प्रजातिको बासस्थान खुम्चदै गएको अनुसन्धानकर्ताहरु बताउँछन् ।
प्रतिक्रिया