विश्वको पहिलो पूर्ण-विद्युतीय यात्रुवाहक विमानले उडान भर्ने तयारी गरेको छ। इजरायली कम्पनी ‘इभिएसन’ले विकास गरेको ‘द एलिस’ नामक सो विमानको गत हप्ता सियाटलको उत्तरमा रहेको आर्लिङ्टन म्युनिसिपल एयरपोर्टमा इन्जिन परिक्षण गरिएको थियोे । इभिएसनका सीईओ ओमर बार-योहेका अनुसार एलिसको पहिलो परीक्षण उडान हुन केही हप्तामात्र बाँकी छ।
विद्युतीय कार तथा मोबाइल फोनको जस्तै ब्याट्री टेक्नोलोजी रहेको ‘एलिस’ विमान ३० मिनेट चार्ज गरेपछि १ घण्टा (करिब ८१५ किमि) उड्न सक्ने बताइएको छ। सो विमानमा ९ जना यात्रु यात्रा गर्न मिल्छ।
सो विमानको अधिकतम गति २५० नट्स अथवा ४६० किलोमिटर प्रतिघण्टा छ। बोइङ ७३७ को अधिकतम गति करिब ९५० किमि प्रतिघण्टा हुन्छ। विशेषगरी विद्युतीय हवाई यात्रामामात्रै केन्द्रित रहेको सो कम्पनीले अबको ७ देखि १० वर्षमा २० देखि ४० जना यात्रु अटाउन सक्ने विद्युतीय विमानहरूको विकास सम्भव हुने आशा राखेको छ।
२०१९ मा डेब्यू भएको विमानको ‘प्रोटोटाइप’को गत डिसेम्बरदेखि ‘लो-स्पिड-ट्याक्सी टेस्ट’ गरिएको थियो। अबको केही हप्तामा ‘हाई-स्पिड-ट्याक्सी टेस्ट’ हुने बताइएको छ। यी परीक्षणहरुमा विमानलाई धावनमार्गमा विभिन्न गतिमा गुडाइन्छ। सो क्रममा प्राविधिकहरुले स्टेरिङ, ब्रेकिङ तथा एन्टी-स्किड जस्ता विमानका विभिन्न क्षमताहरुको परीक्षण गर्ने गर्छन्।
सुरुवातमा कम्पनीले सन् २०२२ अघि नै विमान उडाउने लक्ष्य राखेको थियो। तर, गत वर्षको अन्त्यमा पेसिफिक नर्थइस्टको खराब मौसमका कारण विमानको उडान परीक्षणमा अवरोध पुगेको थियो।
‘इभिएसन’ले सो विमानको प्रोटोटाइपको तीन संस्करणको विकास गरेको थियो- यात्रुवाहक, कार्यकारी संस्करण, र एक कार्गो विशेष विमान। परीक्षणमा रहेको यात्रुवाहक संस्करणको ९ जना यात्रु र दुई चालकका साथमा करिब ४०० किलो कार्गो क्षमता रहेको छ। कार्यकारी संस्करणको आरामदायी यात्राको लागि ६ जना यात्रुको क्षमता छ भने कार्गो विमानले ४५० क्युबिक फिट सामान बोक्न सक्छ।
कम्पनीका अनुसार यस विमानमा कमर्सियल जेटको भन्दा मर्मत र सञ्चालन लागत ७० प्रतिशत कम लाग्ने छ।
विद्युतीय उड्डयनको क्षेत्रमा स्टार्टअप तथा स्थापित उड्डयन कम्पनीहरुबीचको प्रतिस्पर्धा अधिक बढ्दै गएको छ। २०२१ को सेप्टेम्बरमा नासाले जीई एभिएसन र म्याग्निक्सलाई यो टेक्नोलोजी २०३५ सम्म अमेरिकामा ल्याउन २५३ मिलियन डलर (२५ करोड ३० लाख डलर) दिएको थियो।
त्यस्तै, बोइङले विस्क एरो नामक कम्पनीमा ४५० मिलियन डलर लगानी गरेको छ। विस्क एरोले पूर्ण रुपमा विद्युतीय यात्रुवाहक विमान बनाइरहेको छ। र, एयरबसले २०१० देखि नै विद्युतीय विमानको विकास गर्ने योजनामा लागिरहेको छ।
यस क्षेत्रका विज्ञहरूका अनुसार यात्रु जेटहरूमा विद्युतीय उड्डयनको लागि सबैभन्दा ठूलो बाधा ब्याट्री हो।
‘ठूलो बाधक भनेको कारमा जस्तै यसमा पनि ब्याट्री टेक्नोलोजी हो, तर हवाइजहाजमा अझ बढी छ। किनभने हवाईजहाजमा चिन्ता तौलको छ’, एरो कन्सल्टिङ एक्सपर्ट्सका सीईओ रस एमरले भने, ‘जब हामीसँग राम्रो ब्याट्री टेक्नोलोजी हुनेछ, तब यी सबै विद्युतीय हवाइजहाजहरू आउनेछन्। जुन मलाई आशा छ कि दुई वा तीन वर्षमा यो सफल हुनेछ।’
१२ वटा ‘एलिस’ अन्तर्राष्ट्रिय सिपिङ कम्पनी डीएचएलले अर्डर गरिसकेको बताइएको छ, जुन २०२४ सम्म डेलिभर हुनेछ। यी विमानलाई छोटो दुरीको लागि कार्गो विमानको रुपमा प्रयोग गरिने डीएचएलले बताएको छ।
‘हाम्रो आकांक्षा हाम्रो कार्बन फुटप्रिन्ट घटाउनमा पर्याप्त योगदान दिने हो, र उड्डयन टेक्नोलोजीमा भएका यी प्रगतिहरूले थप कार्बन कटौती हासिल गर्न धेरै मद्यत गर्नेछन्,’ डीएचएल एक्सप्रेस अमेरिकाका सीईओ माइक पर्राले सीएनएनसँग भने।
‘इभिएसन’ले डीएचएल र कम्युटर एयरलाइन केपएयरले आफ्नो प्रस्तावित विमान खरिद गर्ने बताएको छ र ‘एलिस’को पहिलो उडान भएपछि अन्य पनि घोषणा गरिने जानकारी दिएको छ।
प्रतिक्रिया