काठमाडौं २१ माघ – स्वदेशी उत्पादन कम भएकाले विगतको वर्षभन्दा यस वर्ष प्रेम दिवसका लागि भारतबाट ५० हजार बढी रातो गुलाब आयात गरिने भएको छ । कारोना सङ्क्रमणका कारण विगत दुई वर्षदेखि व्यापारीले यस व्यवसायमा थप लगानी नभएको तथा माघको सुरुवातदेखि घाम नलागेका कारण यस वर्ष रातो गुलाब उत्पादनमा कमी आएकाले आयात वृद्धि गर्नुपर्ने भएको हो ।प्रेमकाे प्रतीक मानिने रातो गुलाबको गएकाे वर्ष एक लाख ८० हजार स्टिक बजार माग रहेको थियो भने यस वर्ष बजार माग ५० हजार स्टिकले बढी भएको छ । अघिल्लो वर्ष बजार मागको २० प्रतिशत स्वदेशी उत्पादन थियो । अहिले मागको दश प्रतिशतमात्र धान्ने अवस्था रहेको फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो ।अध्यक्ष तामाङका अनुसार यस वर्ष दुई लाख ५० हजार स्टिक गुलाब खपत हुने अनुमान गरिएको छ ।
हरेक वर्ष दुई करोड रुपैयाँ बराबरकाे गुलाबको आर्थिक कारोबार हुने गरेको छ । यसरी ल्याइने फूलमध्ये ४० प्रतिशत काठमाण्डाै उपत्यकामा र अन्य बाँकी देशका मुख्य सहरमा खपत हुन्छ । यस वर्ष उपभोक्ताले गुलाबप्रति स्टिक ८० देखि एक सय रुपैयाँसम्ममा खरिद गर्नुपर्ने बताइएको छ ।यो मूल्य विगतमा भन्दा बढी हो । हरेक वर्ष फेब्रुअरी १४ मा प्रणय दिवस (भ्यालेन्टाइन डे) मनाइँदै आएको छ । नेपालमा वार्षिक रूपमा डेढ अर्ब फूलको आर्थिक कारोबार हुने गरेको छ । तिहारमा मात्र सात करोड रुपैयाँको फूलको कारोबार हुँदै आएको छ । त्यसैगरी झन्डै पाँच करोड रुपैयाँकाे फूल वार्षिक रूपमा आयात हुने गरेको छ ।मुख्यगरी कात्तिकदेखि फागुनसम्ममा फूलको बढी खपत हुने गरेको छ ।
प्रणय दिवसमा रातो गुलाब र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि नेपाल मखमली र गोदावरी फूलमा आत्मनिर्भर बनिसकेको छ । तिहारको समयमा अस्ट्रेलिया र मलेसियामा तिहारमा मखमली फूल निर्यातसमेत हुने गरेको छ ।पुष्प व्यवसायबाट नेपालमा ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा झन्डै एक हजार ४७ हेक्टर क्षेत्रफलमा ६ सय प्रजातिका फूल उत्पादन हुने गरेको छ । व्यावसायिक रूपमा चार सय प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ । जसमा रातो गुलाब १२ प्रजातिको खेती हुने गरेको छ ।नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाण्डाै, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा झन्डै साढे सय ६ सय पुष्प फार्म तथा नर्सरी विस्तार भइसकेको छ ।
कोरोना महामारी हुनुभन्दा पहिले असोजदेखि फागुन महिना फूलको बढी कारोबार हुने मौसम हो । अहिले राम्रोसँग कारोबार हुने समय पनि भएको र कोरोना सङ्कक्रमण पनि बिस्तारै कम हुँदै गइरहेकाले यस व्यवसायले गति समाएको हो । कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले विगत डेढ वर्षदेखि नै राम्रो आम्दानी गर्न नसके पनि पछिल्लो समय बिस्तारै तङ्ग्रिन थालेको छ । कोरोना सङ्क्रमण त्रासकै बीच लामो समयदेखि बन्द रहेको अन्य केही व्यवसाय बिस्तारै खुला हुन थालेसँगै यस व्यवसायले पनि लय लिएको छ ।
प्रतिक्रिया