प्रदेश

प्राध्यापकहरू विद्यार्थीसँग डराएर हिँड्नुपर्ने बेला आयो: शिक्षाविद्



काठमाण्डौ, ०९ फागुन । नेपालको शिक्षा क्षेत्रमा निरन्तर आक्रमण भइरहेको शिक्षाविद्हरूले बताएका छन् । त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि भइरहेको तालाबन्दीबारे आज सोमवार विज्ञहरूसँग भएको छलफलमा शिक्षाविद्हरूले देशलाई बिगार्न शिक्षामाथि आक्रमण भइरहेको बताएका हुन् ।

छलफलमा प्राध्यापक विनोद जोशीले प्राध्यापकहरू विद्यार्थीसँग डराएर हिँड्नुपर्ने बेला आएको भन्दै नागरिक समाजको ध्यानाकर्षण गराउनुभयो । उहाँले त्रिवि आफैँमा समस्याको भण्डार भएकाले दीर्घकालीन रूपमा समस्या समाधान गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

प्राध्यापक जोशीले भन्नुभयो, ‘हामी त्यस्तो विश्वविद्यालयमा खडा छौँ, जहाँ प्राध्यापकहरू विद्यार्थीहरूबाट डराउनुपर्छ । नागरिक समाजले यो सन्दर्भमा सोच्नुपर्छ । त्रिवि आफैँमा समस्याको ठूलो भण्डार हो । जनकपुरको युथ क्याम्पसलाई एउटा प्राइभेट क्याम्पसलाई दिएको सम्बन्धन फिर्ता गरिनुपर्छ । कुनै एउटा क्याम्पसले सम्बन्धन पाउनुपर्ने वा नपाउने भन्ने विषय विद्यार्थीहरूको विषय हुन सक्छ वा सक्दैन रु’

यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति तथा प्राध्यापक त्रिरत्न मानन्धरले त्रिभुवन विश्वविद्यालयको समस्या तालाबन्दीबाट नहुने बताउनुभयो । उहाँले विश्वविद्यालयमा भइरहेका घटनाक्रमका कारण आफू त्रिविको प्राध्यापक हुँ भन्न पनि आत्मग्लानी हुने गरेको बताउनुभयो ।

प्राध्यापक मानन्धरले भन्नुभयो, ‘अहिले त त्रिभुवन विश्वविद्यालयको प्राध्यापक भन्दा पनि अलिकति आत्मग्लानी हुन्छ कि भन्ने किसिमको पनि सोच कहिलेकाहीँ आउँदो रहेछ । तर आफूले राम्रो काम गरेको हो, अहिलेको स्थितिमा त मेरो के नियन्त्रण हुन्छ र भन्ने सान्त्वना आफैँले आफैँलाई दिने गर्छु म । तालाबन्दी गरेर समस्याको समाधान हुँदैन ।’

त्यस्तै प्राध्यापक राजकुमार पोखरेलले ताला लगाएर कुनै पनि समस्या समाधान नहुने भन्दै पदाधिकारी र विद्यार्थीहरूले छलफल र संवादबाट नै समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो । उहाँले कतिपय बेलामा विद्यार्थीहरूको विषय एक तर माग अर्को हुने गरेको पनि बताउनुभयो । प्राध्यापक पोखरेलले कुनै पनि देशलाई बिगार्न सबैभन्दा पहिला देशको शिक्षामा आक्रमण हुने गरेको र अहिलेको परिवेशमा नेपालमा पनि त्यस्तै भइरहेको बतउनु भयो । उहाँले विद्यालयहरू राजनीतिक पार्टीको षड्यन्त्र गर्ने ठाउँ नभएको भन्दै राजनीतिक गुट र पार्टीहरूलाई शिक्षामा असर पार्न दिनबाट रोक्न सक्नुपर्ने बताउनुभयो । अहिले राजनीतिक नेतृत्वकर्ताहरूमा भइरहेको संस्कृतिको विकासका कारण नै शिक्षामा समस्या भइरहेको उहाँले बताउनुभयो ।

प्राध्यापक पोखरेलले भन्नुभयो, ‘ताला लगाउने सबै कुराको समाधान होइन । ताला लगाएर भागेर हिँड्ने प्रवृत्तिको म पनि आलोचक हुँ । सामना गरेर समस्याको समाधान गर्न सक्नुपर्छ । नागरिक समाजले शिक्षा क्षेत्रमा राजनीतिक पार्टीका नेता र नेतृत्वहरूको जुन संस्कार देखिएको छ, त्यसको खुलेर विरोध र आलोचना गर्न सक्नुपर्छ । ’

त्यस्तै प्राध्यापक डम्बर चेम्जोङले नेपाली समाजमा विश्वविद्यालय र उच्च शिक्षाको बारेमा ऐतिहासिक र राजनीतिक बुझाइको अभाव रहेको बताउनुभयो । उहाँले देश सङ्घीयतामा गएको भने पनि भागबन्डामा केन्द्रित हुँदा शिक्षामा समस्या थपिएको बताउनुभयो । उहाँले हरेक प्रदेशमा सरकारले एकरएक वटा विश्वविद्यालय खोल्नुपर्ने माग राख्नुभयो । प्राध्यापक चेम्जोङले विश्वविद्यालय अहिले जागिर खाने थलो मात्रै भएको र त्रिविमा धेरै विद्यार्थी बनाएर विश्वको वरीयतामा जाने लोभका कारण शिक्षाको विकासमा ध्यान दिन नसकेको बताउनुभयो । उहाँले राजनीतिक दलहरूप्रति व्यङ्ग्य गर्दै सरकारले त्रिवि जस्ता १० वटा अन्य विश्वविद्यालय स्थापना गरेर पार्टीका मान्छेहरूलाई स्थान दिन सुझाव दिनुभयो ।

त्यस्तै प्रध्यापक प्रेमबहादुर चलाउनेले विद्यार्थीहरूको तालाबन्दी सरुवा, बढुवा र नियुक्तिसँग हुने गरेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालय र प्राध्यापकहरूले अपराधीहरूलाई अपराधीकै तरिकाबाट उपचार नगर्दा समस्या आइरहेको बताउनुभयो ।

प्रकाशित : ९ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६