प्रत्येक वर्ष मार्च ८ मा मनाइँदै आएको अन्तर्राष्ट्रिय महिला दिवसको परम्परा १ सय ११ वर्ष पुरानो भइसकेको छ। पहिलोपटक अन्तर्राष्ट्रिय महिला दिवस सन् १९११ मा मनाइएको थियो।
यसले महिलालाई पुरुषसरह मानव जीवन हासिल गर्न दिएको सन्देश अझै पूरा भइसकेको छैन। मानवका रूपमा पुरुषका जति अधिकार छन्, त्यहीरूपमा महिलाले पनि आफूलाई उभ्याउन पाउनुपर्छ। सैद्धान्तिकरूपमा यसो भनिरहे पनि व्यावहारिकरूपमा अझै महिलाले उपलब्धि हासिल गर्न सक्ने वातावरण बनिसकेको छैन।
सार्वजनिक र निजी क्षेत्र सबै ठाउँमा महिलाको समान प्रतिनिधित्वको प्रश्न यथावत् छ। केही वर्षयता महिलालाई राज्यका विविध स्थानमा सहभागी गराउन थालिएका सकारात्मक कार्य (एफर्मेटिभ एक्सन) ले केही प्रगति भए पनि अझै यो पर्याप्त छैन।
महिला समानता र सशक्तीकरणका निम्ति क्रियाशील संयुक्त राष्ट्रसंघीय निकाय युएन उमनका अनुसार यो वर्ष २०२२ जलवायु परिवर्तन र वातावरण तथा प्रकोप न्यूनीकरणका सन्दर्भमा लैंगिक समानता निर्णायक पक्ष रहेको छ। ‘आज लैंगिक समानता नभई दिगो भविश्य र समान भविश्य हाम्रो पहुँचभन्दा बाहिर हुनेछ’, युएन उमनको विज्ञप्तिमा भनिएको छ।
अन्तर्राष्ट्रिय महिला दिवसको यस वर्षको नारा रहेको छ– ‘भोलिको दिगोपनका निम्ति आजको लैंगिक समानता।’ यसको उद्देश्य विश्वभरि महिला र बालिकाहरूले गरेको योगदानको पहिचान गर्नु हो। उनीहरूले जलवायु परिवर्तन अनुकूलन, न्यूनीकरण र सम्बोधन गर्दै सबैका निम्ति थप दिगो भविश्यका निम्ति नेतृत्व गरिरहेका छन्।
यसका साथै इन्टरन्यासनलउमन्सडेडटकमले अन्तर्राष्ट्रिय महिला दिवस २०२२ को अभियानका निम्ति ‘ब्रेक द बायस’ अर्थात् ‘पूर्वाग्रह तोडौँ’ भन्ने अभियानसमेत अगाडि बढाएको छ। यसको उद्देश्य ‘लैंगिक समतामूलक विश्व’ बनाउनु हो। यसो भन्नुको अर्थ ‘पूर्वाग्रह, परम्परागत चित्रण (स्टेरियोटाइप्स्), र भेदभावमुक्त’ बनाउनु हो।
वास्तवमा विश्व विविधता, न्यायसंगत र समावेशी छ, जहाँ भिन्नताहरूलाई सम्मान गरिन्छ र उत्सवको रूपमा लिइन्छ भने स्थिति फरक हुन्छ। महिला भएकै कारण हेपिनुपर्ने वा तिनका निम्ति फरक व्यवहार हुने स्थिति आयो भने दिगो विकासको लक्ष्य हासिल हुन सक्दैन। त्यसमा पनि आजको विश्वमा नयाँखाले चुनौती समाना गर्नुपर्ने अवस्था आएको छ। यसका निम्ति पनि महिलाको अग्रगामी नेतृत्व आवश्यक छ।
भारतीय बक्सिङ खेलाडी तथा राजनीतिक व्यक्तित्व मेरी कोमले भनेकी छिन्, ‘कसैलाई पनि तिमी महिला भएकै कारण कमजोर छौ भन्ने मौका नदेऊ।’ वास्तवमा अहिले सबैमा हुनुपर्ने भावना यही हो।
महिलाको अस्तित्व स्वीकार गर्न नसक्ने परिवार, समाज, देश र विश्वले उन्नति गर्न सक्दैन। यसकारण पनि महिलाको महत्ता स्थापित गर्ने यो दिन सबैका निम्ति महत्वपूर्ण छ।
आज विश्वले अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका बेला हामीमा अझै पनि लैंगिक दृष्टिकोण सबल बनिसकेको छैन। हाम्रा बालिकाहरू उत्तिकै संकटको सामना गरिरहेका छन्। तिनले यथोचित शिक्षा, स्वास्थ्य र लालनपालनको सुविधा नपाएको अवस्था मात्र छैन, असुरक्षितसमेत रहेका छन्। १७ वर्षकी किशोरीले आफू बलात्कृत भएँ भनेर उजुरी गर्दासमेत प्रबुद्ध भनिएको कलाक्षेत्रबाटै प्रताडित हुनुपरेको अवस्था छ।
कानुनले संरक्षण गर्ने उमेरकी यी किशोरीमाथि सामाजिक सञ्जाल, कलाकार र अन्य व्यक्तिहरूले व्यक्त गरिरहेका प्रतिक्रियाले हामी विवेकको कुन धरातलमा उभिएका छौँ भन्ने प्रष्ट पार्छ। निर्मला पन्तका हत्यारा र बलात्कारी अझै कानुनको घेरामा आइसकेको छैन। दैनिकजसो किशोरी बलात्कृत भइरहेका छन्। कतिपय ठाउँमा स्कुल टाढा हुँदासमेत किशोरीहरूले आक्रमणमा पर्नुपरेको यथार्थ छ।
एकातिर राष्ट्र निर्माणको मूल प्रवाहमा महिलालाई अग्रस्थानमा पु¥याउनुपर्ने चुनौती छ भने अर्कोतिर संविधान र कानुनले दिएका अधिकार उपभोग गर्न सक्ने अवस्थामा महिलालाई पुर्याउनु पनि उत्तिकै आवश्यक छ। अन्तर्राष्ट्रिय महिला दिवस जस्ता अवसर वर्षमा एक दिन आए पनि तिनको उद्देश्य हामीलाई झक्झक्याउनु पनि हो।
बाह्रै महिना बाह्रै काल महिला र बालिकाप्रति संवेदनशील हुन सक्ने समाज निर्माण नगरी हामी जतिसुकै प्रगतिशील संविधान वा कानुन बनाएर पनि लक्ष्यमा पुग्न सक्दैनौँ। मानवीय सम्मान र सहभागिताको मूल मन्त्र अंगीकार नगरी ओठेभक्तिले मात्र पुग्ने अवस्था छैन। व्यवहारबाटै महिलाका निम्ति अनुकूल वातावरण तयार गर्नुपर्छ। आफ्ना काममा मात्र होइन, संकल्पमा पनि आदर्श सोच्न सक्दामात्र अपेक्षित परिणाम प्राप्त हुन्छ।
हामी प्रायः ‘यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता’ जस्ता शास्त्रोक्त संस्कृत श्लोक उद्धृत गर्दै महिलाप्रति संवेदनशील भएको भान पार्न खोज्छौँ। हाम्रा शास्त्र र परम्पराले महिलालाई उच्च स्थानमा राखेका छन्। शास्त्रमा गार्गी जस्ता नारीहरूको शास्त्रार्थका प्रसंगले हामी पुलकित पनि हुन्छौँ। केही सीमित उदाहरणले मात्र हामी सभ्य भएको सन्देश दिँदैन। हाम्रो सभ्यतालाई उचाइ दिन हाम्रा व्यवहार के छन् त्यसमा ध्यान दिनुपर्छ।
छोरीलाई हामीले पूजा गरेजस्तो गरेर बुहारीलाई भुक्तमान खेलाएका छौँ भने पनि त्यसको के अर्थ हुन्छ र? आखिर मानिसले मानिसलाई गर्ने व्यवहार सही भयो भनेमात्र आदर्श समाजमा पुग्न सकिन्छ। महिलालाई ३३ प्रतिशत आरक्षण गरेरमात्र पुग्दैन।
नीति निर्माण र नेतृत्वमा तिनको उपस्थित नभई महिला मुक्ति सम्भव छैन। महिला अगाडि बढ्नुको अर्थ पुरुषहरू पछि पर्छन् भन्ने होइन। बरु यसले एकअर्काप्रति आश्वस्त हुने अवस्था आउँछ। अन्तर्राष्ट्रिय महिला दिवसले सबैलाई पूर्वाग्रह तोड्ने स्थितिमा पुर्याउन सकोस्। शुभकामना।
प्रतिक्रिया