म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका स्थानीय बासिन्दाले नाचगान गरेर शिक्षकको तलब भत्ता जुटाउने गरेका छन् ।
जनकल्याण माविका निजी स्रोतका शिक्षकको तलब र तल्लो तहको दरबन्दी भए पनि माथिल्लो तहमा अध्यापन गराउने शिक्षकको भत्ता नाचगान गरेर जुटाउने गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुनराम छन्त्यालले गाउँमा विदेशबाट आउने ‘लाहुरे’ लाई स्वागत, विवाह, छेवार, गुन्युचोली देखाउने, किरिया, चौरासी पूजामा नाचगान गरेर शिक्षकको तलबभत्ता जुटाउने गरिएको जानकारी दिनुभयो ।
२०६८ सालदेखि मावि तह सञ्चालन भएको विद्यालयमा दुई/दुई जना बालशिक्षा सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीसहित १५ जना शिक्षक कर्मचारी छन् । मावि तहमा एक जना पूर्ण र चार आंशिक निजी स्रोतका शिक्षक रहेका छन्त्यालले बताउनुभयो।
नाचगानका अतिरिक्त विद्यालय सञ्चालनका लागि विकास योजनामा काम गरेर ज्यालाबापत पाउने रकमसमेत उपलब्ध गराउने गरिएको शिक्षक अभिभावक सङ्घका अध्यक्ष गोर्खा छन्त्यालले बताउनुभयो । गुर्जामा अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको मात्र बसोबास छ।
कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा झण्डै ३ सय विद्यार्थी छन् । भौगोलिकरुपमा विकट गुर्जामा एउटा मात्रै विद्यालय छ। शिक्षकलाई आकर्षित गराउन गाउँ बाहिरका शिक्षकलाई विद्यालयले आवासीय सुविधा दिएको छ । (रासस)
प्रतिक्रिया