अर्थ-वाणिज्य

सामुदायिक बन भित्र बेथिति: अनुगमनमा मात्रै १० लाख, ७ लाखको चन्दा



बसन्त गिरी
कपिलवस्तु, १ चैत
२ सय ६३ हेक्टरको सानो बन । ४ सय घरधुरी भएको बाणगंगाको बैजलपुर जनकल्याण सामुदायिक बन । कुनै बेला डिभिजन बन कार्यालयले नमूना बन भन्ने गरेको उक्त बन अहिले आर्थिक अनियमिततामा र्चुलुम्म डुबेको सहजै अनुमान लगाउन सकिन्छ । २०५६ सालमा समुदायले संरक्षण गर्ने उद्धेश्यले स्थापित उक्त बनमा २०७३ साल सम्म सबै ठीक थियो । न्यून आयश्रोतमा सहज बनको व्यवस्थापन थियो । तर २०७४ सालमा सामुदायिक बनले बैज्ञानिक बन व्यवस्थापन कार्ययोजना स्वीकृत गराएपछि एकाएक परिवर्तन आयो । बार्षिक ३ लाख आम्दानी हुने बनमा बैज्ञानिक व्यवस्थापन संगै काठ उत्पादन ह्वात्तै बढेपछि त्यसबाट आम्दानी समेत निकै बढ्यो । संगै सुरु भयो अनियमितताको श्रङ्खला ।

अस्वभाविक खर्च: आ.ब. २०७६/७७ को आर्थिक प्रतिवेदन अनुसार बनको बार्षिक आम्दानी १ करोड १३ लाख बढि छ । सोहि अनुसार खर्च छ । बनले अनुगमनमा मात्रै १० लाख ६३ हजार खर्च देखाएको छ । बन ऐन अनुसार सामुदायिक बनले कुल बजेटको बढिमा ३ प्रतिशत खर्च गर्न पाउछ । तर यहाँ १० प्रतिशत भन्दा बढि रकम अनुगमनमै खर्च गरिएको छ । जुन गैरकानूनी हो । यसै गरि चन्दा अनुदान सहयोगमा ७ लाख ५८ हजार खर्च देखाइएको छ । समुदायको आय आर्जनमा कम्तिमा २५ प्रतिशत खर्च गर्नुपर्नेमा १ रुपैया पनि आयआर्जनमा खर्च गरिएको छैन । कार्यविधि र ऐन मिच्दै समितिले आफुखुशी निवेदनकै भरमा ७ लाख बढि रकम बाडेका छन् ।
सामुदायिक बनले २०७४ सालमा बैज्ञानिक बन व्यवस्थापनको १० बर्षे कार्ययोजना निर्माण गरिसकेका छन् । तर समितिले विधान कार्ययोजना खर्च भन्दै अहिले पुनः १ लाख ७८ हजार ५ सय खर्च देखाएका छन् । जसको कुनै प्रमाण देखिदैन । यसै गरि आ.ब. २०७७/७८ मा झाडी सफाई बापत ६ लाख ३४ हजार खर्च गरेको देखाइएको छ । तर स्थानीय उपभोक्ताहरु प्रयोग गरि झाडी सफाई गरिएको स्थानीयबासी बताउछन् ।

बन कर्मचारीलाई भत्तै भत्ता: सामुदायिक बनले विभिन्न शिर्षकमा बन कर्मचारीलाई भत्ता दिएको आर्थिक प्रतिवेदनमै देखाएको छ भने कतिपय स्थानमा दिन बाँकी समेत देखाएको छ । सामुदायिक बनको आ.ब. २०७६/७७ को प्रतिवेदन अनुसार अतिथी सत्कारको ९२ हजार १५५, प्राविधिक खर्चको ७६ हजार १७३ र पत्ल्याउने र थिनिङ अन्र्तगतको रकममा समेत भत्ता खुवाइएको छ । यसै गरि बन कर्मचारी प्राविधिक भत्ता भनेर १ लाख ७२ हजार २६० रुपैया भुक्तान दिन बाँकी भनेर देखाइएको छ । यसै गरि आ.ब. २०७७/७८ मा प्राविधिक खर्च भनेर ७९ हजार बन कर्मचारीलाई दिएको कोषाध्यक्ष रेम बहादुर रेश्मीले फागुन २९ गतेको ९औ साधारण सभामा बोलेका थिए । समितिले गरेको लगत क्रियाकलाप लुकाउन र कर्मचारी फकाउन समितिले २ दिन भित्रै सक्ने कार्य ७–८ दिन लगाएको देखाएर बढि भत्ता दिने गरेको समितिकै सदस्यले बताए । यस सम्बन्धमा सहायक बन अधिकृत शिव बहादुर केसीले २ दिन भन्दा बढि खटेमा कर्मचारीले समितिले उप्लब्ध गराए बमोजिमको भत्ता लिन मिल्ने बताए ।

समितिमा चर्को विवाद: २०६७ साल देखि सामुदायिक बनको अध्यक्ष बनेका सत्यनारायण थारुले ३ पटक सम्म अध्यक्षमै दोहोरिएका छन् । अरुलाई नेतृत्व नदिएर जर्बजस्ती बसेका उनी थप आर्थिक अनियमितता हुदा समुदाय तथा समिति भित्रै चर्को विवाद सिर्जना भएको छ । अध्यक्षले मनपरी कागज मिलाएर आर्थिक अपचलन गरेको भन्दै साधारण सभामै विरोध भएको थियो । फागुन २९ गते भएको साधारणसभामा आर्थिक प्रतिवेदनमा देखाइएको खर्च अप्रत्याशित भएको भन्दै विरोध मात्र गरेनन् उपभोक्ताहरुले पिपरा सब डिभिजन बन कार्यालयमा उजुरी समेत दिएका थिए । यस सम्बन्धमा सामुदायिक बनकी सचिव मधुकला भट्टराईले कोषाध्यक्ष र अध्यक्षले आर्थिक कारोबार गर्ने गरेको र साधारण सभामा हिसाब माग गर्दा दिन नसकेको कारण विवाद सिर्जना भएको बताइन् । “केहि खर्च समितिकै साथीहरुलाई समेत थाहा छैन, छानबिन गर्न भित्रै माग छ” उनले भनिन् । अध्यक्ष सत्यनारायण थारुले लेखापरिक्षण गरिएको प्रतिवेदन नै आदिकारिक भएको भन्दै यस बाहेक केहि नबोल्ने बताए ।
बैजलपुर जनकल्याण मात्र होइन जिल्लामा बैज्ञानिक बन व्यवस्थापन कार्ययोजना अनुसार बनको व्यवस्थापन गरेका अधिकांश सामुदायिक बनमा आर्थिक पारदर्शिता नहुदा अनियमितता बढ्दै गएको छ । डिभिजन बन कार्यालयहरुले समेत सामुदायिक बन भित्र बढ्दो अनियमितता तथा अपचलन नियन्त्रण गर्न नसकेको सरोकारवाला बताउछन् । बन कर्मचारीहरुलाई सामुदायिक बनले दिने भत्तामा बढि ध्यान हुन्छ, बाँकी त जे गरेपनि छुट छ” स्थानीय उपभोक्ता भिष्मराज न्यौपानेले भने ।

प्रकाशित : १ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६