काठमाडौं ३ चैत । आज रङहरुको पर्व फागुपूर्णिमा(होली)। एकअर्कालाई अबिरलगायत विभिन्न रङ तथा रङ्गीन पानी छ्यापेर होली मनाइन्छ।
होली मनाउँदै गर्दा तस्बिरहरू क्लिक गर्न वा भिडियो खिच्न पनि मन लाग्छ। यदि रङ वा पानीको साथ होली मनाउन बाहिर निस्किने सोच्नुभएको छ भने, तपाईंका बहुमूल्य स्मार्टफोन र अन्य ग्याजेटहरू सुरक्षित राख्ने कुरामा पनि ख्याल गर्नु होला।
होली खेल्दा आफ्ना ग्याजेटहरू सुरक्षित राख्न तपाईंले यी ८ उपायहरु अपनाउन सक्नुहुनेछ :
१. इयरबड्सलाई ग्लिसरिन वा मोइस्चराइजरले सुरक्षित गर्ने
इयरफोनलाई बिग्रन वा रङको दाग लाग्नबाट जोगाउन ग्लिसरिन वा मोइस्चराइजर लगाउन सकिन्छ। यसले होली मनाएपछि रङको दागहरू सफा गर्न पनि सजिलो बनाउँदछ।
२. ‘वाटरप्रुफ’ झोलाको प्रयोग
यो सबैभन्दा सरल उपाय हो। आफ्नो फोन, स्मार्टवाच, स्मार्ट ब्यान्ड वा अन्य कुनै पनि ग्याजेटलाई हावा र पानी नछिर्ने ‘जिपलक’ वा ‘वाटरप्रुफ’ झोलाभित्र राख्न सकिन्छ।
३. ‘पोर्ट’हरु टेपले शिल गर्ने
फोन वा अन्य कुनै पनि ग्याजेटको स्पिकर ग्रिल, चार्जिङ पोर्ट जस्ता खुला पोर्टहरू छोप्न टेपको प्रयोग गर्न सकिन्छ।
४. साइलेन्ट गरेर मात्रै ‘वाटरप्रुफ’ झोलामा फोन राख्ने
डक्ट टेप लगाउँदा तथा ‘जिपलक’ वा ‘वाटरप्रुफ’ झोलामा फोन राख्दा स्पिकरहरूलाई क्षति हुनबाट जोगाउन फोनलाई साइलेन्ट मोडमा राख्नुपर्छ।
५. फोनमा ‘बायोमेट्रिक’को सट्टामा ‘प्याटर्न लक’ राख्ने
फोन ‘जिपलक’ झोलामा राख्दा वा अनुहार रङले ढाकिएको अवस्थामा फोनले तपाईंको ‘फिंगरप्रिन्ट’ र अनुहार पहिचान नगर्न सक्छ। यस्तो अवस्थामा सजिलैसँग फोन चलाउन पिन वा ‘प्याटर्न लक’ विकल्पको प्रयोग गर्नु उपयुक्त हुन्छ।
६. पानीले भिजेको फोन तत्काल चार्ज नगर्ने
पानीले भिजेको बेलामा फोन वा अन्य कुनै पनि डिभाइस चार्ज गर्दा फोन ड्यामेज हुन सक्छ। यस्तो बेला विद्युतको झट्का पनि लाग्न सक्छ। त्यसैले पानीले भिजेको तथा ‘जिपलक’ वा ‘वाटरप्रुफ’ झोलामा राखिएको फोत उतिखेरै चार्ज गर्नु जोखिमपूर्ण हुन्छ।
७. स्मार्टवाच जोगाउन ‘वाटरप्रुफ’ कभरको प्रयोग गर्ने
अधिकांश स्मार्टवाच र फिटनेस ब्यान्डहरू ‘आइपी-६८ रेटेड’ छन्। यद्यपि, ति स्मार्टवाच वा फिटनेस ब्यान्डहरुलाई सुरक्षित राख्न रिस्टब्यान्ड कभर प्रयोग गर्न अत्यन्त जरुरी देखिन्छ। वैकल्पिक रूपमा स्मार्टवाच वा फिटनेस ब्यान्डलाई पानीबाट बचाउन प्लास्टिकको झोलाको प्रयोग पनि गर्न सकिन्छ।
८. भिजेर फोन बिग्रिए वारेन्टीले कभर गर्दैन
अहिले आएका अधिकांश आधुनिक स्मार्टफोन र इयरबडहरू ‘वाटरप्रुफ’ वा ‘स्प्ल्यास-रेसिस्टेन्ट’ हुन्छन्। यसको मतलब यी डिभाइसहरु पानी र धुलोबाट एक हदसम्म सुरक्षित हुन्छन्। यो क्षमता रेटिङको आधारमा फरक हुन सक्छ र आइपी-६९ रेटिङ भएको डिभाइस सबैभन्दा सुरक्षित मानिन्छ। यद्यपि, अधिकांश कम्पनीहरूको हकमा पानीले क्षति पुगेमा वारेन्टीले कभर गर्दैन।
प्रतिक्रिया