हरि घिमिरे, ०३ चैत्र ।
१२ औं कपिलवस्तु महोत्सवमा दर्शकको इच्छा अनुसारका कलाकारहरु महोत्सवमा उतार्ने सचिवालयले जनाएको छ । दर्शकहरुको आग्रह र माग अनुसार राष्ट्रीय कलाकारहरु कपिलवस्तु महोत्सवमा ल्याइने निर्देशक छवि रेशमीले बताउनु भयो । ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव आज (बिहिवार) ३ गते देखि चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा सञ्चालन हुन लागेको हो । महोत्सवमा करिव दुई दर्जन भन्दा बढि कलाकारहरुले मनोरञ्जन गराउने छन् । कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा हुने १२औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीमा स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मको बेजोड प्रस्तुति रहने भएको छ । महोत्सवमा चर्चित भारतीय तथा नेपाली नायिका मनिषा कोइराला आउनुहुने भएको छ । कोइरालाको आगमनले महोत्सव सफल पार्न ठुलो सहयोग पुग्ने कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताउनु भयो । कोईराला महोत्सवमा आई सम्बोधन गर्ने कार्यक्रम तय भएको घिमिरेको भनाई छ ।
यस्तै महोत्सवमा प्रकाश सपुत, शिव परियार, प्रमोद खरेल, पशुपति शर्मा, खुमन अधिकारी, बद्री पंगेनी, प्रिति आले, सम्झना भण्डारी, रमेशराज भट्टराई, छेवाङ लामा, पुष्पन प्रधान, रचना रिमाल लगायतका कलाकारको बेजोड प्रस्तुति रहने कपिलवस्तु उद्योग बाणिज्य सघंका महासचिव मनोज पौडेलले बताउनु भयो । उहाँले महोत्सवमा स्थानीय स्तरका सम्भव भएसम्म हरेक कलाकारलाई विशेष स्थान दिने तयारी रहेको बताउनु भयो । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।
३ चैत्र २०७८, बिहिबार
प्रतिक्रिया