काठमाडौँ, १५ चैत्र । निर्वाचन आयोगले स्थानीय निर्वाचन–२०७९ का लागि मतपत्र छाप्ने तयारी गरेको छ । आयोगको बैठकले जनक शिक्षा सामग्री केन्द्रलाई मतपत्र छाप्न तयारी अवस्थामा रहन निर्देशन पनि दिएको छ । निर्वाचनका लागि आवश्यक सबै मतपत्र जनक शिक्षा सामग्री केन्द्रबाट छाप्ने निर्णय गर्दै आयोगले यस्तो निर्देशन दिएको हो ।
निर्वाचन तयारीबारे जानकारी गराउन सोमबार आयोजित पत्रकार भेटघाटमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त निर्णयबमोजिम जनशक्ति, छपाइ यन्त्रलगायतका सबै पूर्वाधार तयारी अवस्थामा राख्न केन्द्रलाई निर्देशन दिएको बताउनुभयो । उहाँले चैत १७ गते नमुना मतपत्र छापिने र लगत्तै मतदानमा प्रयोग हुने मतपत्र छपाइ कार्य सुरु हुने बताउनुभयो ।
स्थानीय निर्वाचनका लागि करिब दुई करोड मतपत्र छापिनेछन् । स्वीकृत अन्तिम मतदाता नामावलीबमोजिम एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहे पनि करिब १५ प्रतिशत बढी मतपत्र छापिने आयोगले जनाएको छ । आयोगले दुर्गम क्षेत्रमा समयमै मतपत्र पठाउन मतदान हुनुभन्दा १५ दिनअघि नै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्य राखेको छ । तर, महानगर र ठूला सहरको मतपत्र भने उम्मेदवारी दर्तापछि छाप्ने हो कि भन्नेसम्बन्धमा आयोग अझै छलफलमा रहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । मतपत्र डिजाइनको काम भने अझै सम्पन्न भएको छैन । डिजाइन सम्पन्न भएपछि नमुना मतपत्र छापिने र त्यसलगत्तै मतदानमा प्रयोग हुने मतपत्रको छपाइ कार्य सुरु हुने आयोगले जनाएको छ ।








प्रतिक्रिया