अर्थ-वाणिज्य

लुम्बिनी प्रादेशिक अस्पतालको टेण्डर प्रक्रियामै कमिसनको बार्गेनिङ गर्ने अधिकृतको राजीनामा

सरकारले कारबाहीको तयारी गरेका बेला आफू चोखो बन्नका लागि अधिकृत अनन्तराम घिमिरेको राजीनामा



बुटवल, १५ चैत्र ।
पदको दुरुपयोग गरेको निष्कर्षसहित लुम्बिनी प्रदेश सरकारले कारबाहीको तयारी गरिरहेको बेलामा लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले राजीनामा दिएका छन् ।

लुम्बिनी प्रदेश सरकारकै गौरवको आयोजना मानिएको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि आह्वान गरिएको टेण्डर विवादित भएपछि रद्द गरिएको थियो । लगत्तै प्रदेश प्राधिकरण आयोजनाका कार्यकारी निर्देशक घिमिरेले राजीनामा दिएका हुन् । उनले चैत १३ गते दिउँसो प्रेस नोट लेखेर राजीनामाको जानकारी दिएका हुन् ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला सञ्चार मन्त्री तिलकराम शर्माले लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का निकाल्ने, टेण्डरको प्राविधिक रूपले जाँचबुझ गर्ने जिम्मेवारी सीईओकै भएको बताउँदै त्यसमा प्राविधिक रूपमा त्रुटि पाइएपछि रद्द गर्ने र अगाडि बढ्न आदेश दिइएको स्मरण गराए । घिमिरेले टेन्डर प्रक्रियामै त्रुटि गरेकाले उनीमाथि सरकारले कारबाहीको तयारी गरेका बेला आफू चोखो बन्नका लागि राजीनामा दिएको मन्त्री शर्माको भनाइ छ ।

घिमिरेले आफ्नो पदीय हैसियत भुलेर आर्थिक रूपमा बार्गेनिङ गर्ने, सरकारको नाम जोडेर कमिसन नपाएसम्म काम अगाडि नबढाउने लगायतको काम गरेको मन्त्री शर्माले बताए । उता प्रेस विज्ञप्ति जारी गरेर राजीनामाको घोषणा गरेका घिमिरे भने सम्पर्कमा आएका छैनन् ।

भवन निर्माणका लागि आह्वान गरिएको ठेक्का कुनै दुई कम्पनीमात्र छनोट गर्ने गरी स्पेसिफिकेसन तयार गरेर प्रक्रियामै सेटिङ गरेको रहस्य बाहिर आएसँगै प्रदेश पूर्वाधार विकास प्राधिकरणले टेण्डर रद्द गरेको जनाएको छ । करिब ७ अर्ब रुपैयाँ लागतमा बन्ने बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि गरिएको टेन्डर सोमबार नै रद्द गरिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : १५ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६