अर्थ-वाणिज्य

रुपन्देही र कपिलवस्तुमा चल्ने विद्युतीय बसको ओलीले गरे उद्घाटन



रुपन्देही १५ चैत : संघीय राजधानी भन्दा बाहिर पहिलो पटक निजी क्षेत्रले विद्युतीय बस सञ्चालनमा ल्याइएको छ । सुन्दर यातायात प्रालिले रुपन्देही र कपिलवस्तुमा विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको हो । विद्युतीय बसको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आज मङ्गलवार उद्घाटन गर्दै ६० किलोमिटर यात्रा पनि गरे । रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड होटेलमा रिबन काटेर विद्युतीय बसको शुभारम्भ गरेका ओली यही बसमा चढेर लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी भएर भैरहवा एयरपोर्टसम्म करिब ६० किलोमिटर यात्रा गरेको कम्पनीका सञ्चालक डिआर घिमिरेले बताए ।

लुम्बिनीमा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पनि एमाले अध्यक्ष ओली वातावरणीय प्रदूषण कम गर्नका लागि सुन्दर यातायातले सुरु गरेको यो अभियानमा सबैले साथ दिन आग्रह गरेका थिए । एमाले अध्यक्ष ओलीले लुम्बिनीको सौन्दर्यता बढाउन विद्युतीय सवारी साधनको सञ्चालनले पर्यटकको आकर्षण बढ्ने भएकाले यसमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरेका थिए ।

नेपालको पहिलो सार्वजनिक विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने सुन्दर यातायात प्रालिले रुपन्देही र कपिलवस्तुमा परीक्षणका लागि सञ्चालन गर्नका लागि दुई वटा बस ल्याएको हो । रुपन्देही र कपिलवस्तुमा यी बसहरू सञ्चालनमा हुनेछन् । हाल काठमाडौंमा मात्र सञ्चालित विद्युतीय बसहरू वातानुकूलित भएकोले तराईको गर्मीमा असाध्यै लोकप्रिय हुने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए । नेपाली सडकमा विद्युतीय कारहरू प्रशस्तै गुडिरहँदा पनि बिजुली बसहरू नदौडिएकाले अब अब यसमा सुधार आउने उनको भनाइ छ । छिमेकी मुलुक चीन र भारतका ठूला सहरमा विद्युतीय बसहरू चल्न थालिसके पनि नेपालमा यस्ता बसहरू नगण्य मात्रामा छन् । नेपालमा सुन्दर यातायातले मात्रै सीमित विद्युतीय बस सञ्चालन गरेको छ ।

सुन्दर यातायातले चिनियाँ बीओके ब्रान्डका बस ल्याएर राजधानीमा सञ्चालन गरिरहेको अवस्थामा अब युरो ब्राण्डका बसहरू चलाउने भएको छ । थापाकाअनुसार हाल भैरहवा–बुटवल र बुटवल–सालझण्डी हुँदै कपिलवस्तुको ४ नं. सम्म विद्युतीय बसहरू चल्नेछन् । कम्पनीले बुटवलको कालिका नगर, भैरहवामामा चार्जिङ स्टेसन राख्ने गरी तयारी गरेको छ भने प्रदेश सरकारको योजनामा सैनामैनाको सालझण्डीमा चार्जिङ स्टेसन बनेको छ । यो रुटमा चल्ने विद्युतीय सवारी साधनका लागि चार्जिङ गर्न भैरहवा, बुटवल र सालझण्डीमा स्टेसन तयार भएपछि सजिलो हुने कम्पनीका सञ्चालक डिआर घिमिरेले बताए ।

प्रकाशित : १५ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६