प्रदेश

चुनावमा गठबन्धन एक भएर जाने निर्णयले माओवादीलाई भन्दा नेकपा एसलाई राहत




काठमाडौँ, १८ चैत्र । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसभित्रको मतभिन्नताका बाबजुद आसन्न स्थानीय तह निर्वाचनमा सत्तासीन दलहरुबीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ । बिहिवार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले स्थानीय तहको चुनावमा एक भएर जाने औपचारिक निर्णय गरेको हो ।

बैठकले तत्काललाई गठबन्धन दलहरूबीच मात्रै चुनावी गठबन्धन गर्ने समझदारी गर्दै अरु दलसँगको तालमेलाई बन्देज लगाएको हो । यस अघिको राष्ट्रियसभा चुनावमा जसरी गठबन्धन एकढिक्का भएर आसन्न स्थानीय तहको चुनावमा पनि सामेल हुने बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

गठबन्धनले प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा तत्काल संयन्त्र गठन गर्ने निर्णय गर्दै ती संयन्त्रहरूलाई स्थानीय अवस्था र आवश्यकताको विषयमा छलफल गरी पाँच दिनभित्र केन्द्रलाई प्रतिवेदन पठाउन निर्देशन गरेको छ । त्यसपछि कुन दलले कति र कुन स्थानीय तह पाउने भन्नेबारे निर्णय हुने बताइएको छ ।

यता, प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि स्थानीय निर्वाचनमा सत्तागठबन्धनबीच तालमेल हुने निर्णय भइसकेकोले जस्तोसुकै अप्ठ्यारो पनि सामना गर्ने बताउनुभएको छ ।

बिहिवार रिपोर्टस क्लबको वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले निर्वाचनमा गठबन्धनको सहकार्य जारी राख्ने निर्णय कांग्रेसले गरिसकेकोले अब कुनै समस्या नपर्ने बताउनुभयो । आफूलाई सहयोग गरेर प्रधानमन्त्री बनाउनेहरूलाई आफूले पनि असहयोग नगर्ने उद्घोष गर्दै देउवाले अब गठबन्धन अझ एकतावद्ध भएर अघि बढ्ने बताउनुभयो ।

चुनावी गठबन्धनको निर्णयसँगै सत्तासाझेदार माआवादी केन्द्र र एकीकृत समाजवादीलाई राहत मिलेको छ । गठबन्धन सरकार बनेयता यी दुई दलले तीनै तहको निर्वाचनमा चुनावी तालमेल गर्नुपर्नेमा जोड दिँदै आएका थिए ।
संविधान, लोकतन्त्र र राष्ट्रिताका लागि गठबन्धन बनेको भन्दै चुनावमा पनि गठबन्धनकै रुपमा जानेबारे अब कुनै द्वविधान नरहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइ छ ।

संविधान सभा अध्यक्षसमेत रहनुभएका एमाले उपाध्यक्ष सुवास नेम्वाङले भने चुनावमा बहुमत कुनै पनि दलले ल्याउन नसक्ने बताउनुभयो । तीनै तहको चुनावमा कुनै दलले बहुमत नल्याउने भन्दै उहाँले त्यसपछि पनि गठबन्धनकै सरकार बन्ने उहाँले बताउनुभयो । तर गठबन्धन संसदीय मूल्यमान्यतामा आधारित हुनुपर्ने नेम्वाङको भनाइ छ ।

यता, एमाले अध्यक्ष केपी शर्मा ओलीले भने गठबन्धनसम्बद्ध दल मात्र नभई दर्ता भएका सबै दल एक भएर आए पनि एमालेलाई हराउन नसक्ने दाबी गर्दै आउनुभएको छ ।

प्रकाशित : १८ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६