काठमाण्डौ १८ चैत : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाउनुभएको छ । आज शुक्रवार अनेरास्ववियुको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले चुनावको मुखमा प्रधानमन्त्री भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै नेपाल फर्किएपछि उहाँलाई सोध्ने बताउनुभयो ।
अध्यक्ष ओलीले सम्बोधनको धेरैजसो समय नेपाली कांग्रेसविरुद्ध खनिनुभएको थियो । उहाँले कांग्रेसले सधैँ लोकतन्त्र विरोधी र राष्ट्रियता विरोधीसँग घाँटी जोड्ने गरेको आरोपसमेत लगाउनुभयो ।
यस्तै कार्यक्रममा ओलीले आफूले दैनिक चार वटा कार्यक्रम भ्याउने गरेको बताउँदै युवाहरू अझै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । एमालेलाई बलियो बनाउन युवाको नै हात रहेको उहाँको भनाइ छ । एमालेको हरुवा बानी नभएको ओलीले बताउनुभयो ।
यस्तै कार्यक्रममा उहाँले सामाजिक अभियन्ताको जागरण ल्याउनुपर्नेमा जोड दिनुभयो । माधव नेपालको जसरी एमालेलाई न भाले न पोथीको अवस्थामा पुर्याउने छुट अब कसैलाई नरहेको उहाँको तर्क थियो ।
प्रतिक्रिया