नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘केपी ओलीको चुनाव चिन्ह त्रिशुल हुन्छ’ भन्दै मजाक गर्ने नेताको हालत पल्टिने बताएका छन् ।खोटाङको दिक्तेलमा शनिबार आयोजित सभालाई सम्बोधन गर्ने क्रममा हलेसी महादेवस्थान आएका अध्यक्ष ओलीले सोही ठाउँमा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा सूर्य र त्रिशुल जोडिएपछि मजाक उडाउने नेताको हालत पल्टिने बताएका हुन् ।
एमाले छाडेर गएका नेताले ‘केपी ओलीको चुनाव चिन्ह त्रिशुल हुन्छ’ भन्दै मजाक उडाएको उल्लेख गर्दै ओलीले आफूले नभइ उनीहरूलाई शिवजीले त्रिशुल हान्ने बताए । ‘हाम्रो पार्टी छाडेर गएका एक जना कसैले बडो मजाकसँग मलाई के भने भने केपी ओलीको चुनाव चिन्ह अब त्रिशुल हुन्छ । अब सूर्यसँग त्रिशुल पनि जोडिने भो,’ अध्यक्ष ओलीले भने, ‘शिवजीको त्रिशुलको फेला परेपछि यिनीहरूको हालत के होला रु ओलीले अब त्रिशुल पनि हान्छ भने, मैले हान्न पर्दैन त्रिशुल त शिवजीले हान्छन् । शिवजीको त्रिशुल पनि उनीहरूले मलाई जिम्मा लाइदिनुभयो ।’
पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलसहित खोटाङ आएका अध्यक्ष ओलीले पवित्र हलेसीमा अपवित्र गठबन्धनको बारेमा कुनै टिकाटिप्पणी नगर्ने बताए । अध्यक्ष ओलीले पत्नी राधिका शाक्यसहित हलेसीमा दर्शन गरेका छन् ।
ओलीले हलेसीमा दुई लाख भेटी चढाएको घोषणा पनि गरे । उनले हलेसीको धार्मिक, ऐतिहासिकता र पौराणिकता महत्वका बारेमा पनि चर्चा गरेका थिए ।
हलेसीमा दर्शन तथा संक्षिप्त पत्रकार सम्मेलनपछि अध्यक्ष ओली दिक्तेलमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न माटिकोरे खेलमैदान पुगेका छन् । जनसभाका लागि हजारौँ कार्यकर्ता उतारेको एमालेले दाबी गरेको छ ।
प्रतिक्रिया