अन्तर्राष्ट्रिय

ऊर्जा उत्पादन र प्रयोगको तरिका बदल्नुपर्छ, जलवायु परिवर्तनको असर कम हुन्छ



एजेन्सी, २३ चैत्र ।
वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण देखिएका खतराहरू कम गर्नका लागि ऊर्जा उत्पादन र उपभोग गर्ने तरिकामा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् ।

संयुक्त राष्ट्र सङ्घका वैज्ञानिकहरूले एउटा प्रतिवेदन सार्वजनिक गर्दै पृथ्वीको तापक्रम खतरनाक अवस्थामा पुग्न नदिन अबको तीन वर्षभित्र कार्बन उत्सर्जनको दर द्रुत गतिमा घटाउन थाल्नुपर्ने बताएका बीबीसीले जनाएको छ । तर कार्बन उत्सर्जन घटाउनका लागि अहिले भइरहेको ऊर्जा उत्पादन र प्रयोगमा ठूलो परिवर्तन आवश्यक रहेको वैज्ञानिकहरूको निष्कर्ष छ ।

उनीहरूले सबैभन्दा बढी जोड कोइलाको प्रयोग घटाउनुलाई दिएका छन् । सन् २०२५ भित्रै विश्वमा कोइलाको प्रयोग ४३ प्रतिशतले घटाएर हावा र सूर्यजस्ता टिकाउ स्रोतबाट ऊर्जा उत्पादन गर्न उनीहरूको सुझाव छ । पृथ्वीलाई बस्नलायक बनाइराख्न ऊर्जा उत्पादनमा कोइलाको प्रयोग सधैँका लागि रोक्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

यस्तै पेट्रोलियम पदार्थको प्रयोग घटाउनुपर्ने र यसका लागि संसारमा खनिज इन्धनको खपतमा दिइने अनुदान पूर्णरूपमा रोक्नुपर्ने वैज्ञानिकहरूको सुझाव छ । यसो गर्दा खनिज इन्धनको उत्पादन तथा उपयोग घटेर नवीकरणीय ऊर्जाको उत्पादन र खपत बढ्ने वैज्ञानिकहरूको भनाइ छ । यस्तै धनी व्यक्तिहरूले निजी जेट विमानको प्रयोग घटाउनुपर्ने, हरेक व्यक्तिका लागि कार किन्ने प्रवृति हटाउने, ऊर्जा धेरै उपयोग गर्ने अहिलेको व्यवहार सुधार गर्नुपर्ने उनीहरूको सुझाव छ ।

यस्तै प्रतिवेदनमा आवास, आवागमन र पोषणजस्ता क्षेत्रमा भइरहेको ऊर्जाको मागलाई कटौती गर्न पनि सुझाव दिइएको छ । यसमा न्यून कार्बन खानेकुराको प्रयोग, खानेकुरा खेर नफाल्ने, सहरको निर्माण गर्ने तरिकालगायतमा सुधार गर्नुपर्ने छ । यस्तै वैज्ञानिकहरूले वायुमण्डलको कार्बन हटाउने र सूर्यको किरण पृथ्वीमा आउनबाट कम गराउने प्रविधिको विकास र प्रयोगबारे पनि काम थाल्नुपर्ने सुझाव दिएका छन् ।

सुडानमा पातलिँदै गएको जङ्गल, तस्बिरः एपी

प्रकाशित : २३ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६