प्रदेश

सभामुख सापकोटाले भने, संसदमा देखिएको समस्या संवादबाटै समाधान हुन्छ



सिन्धुपाल्चोक, २४ चैत्र । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा देखिएका समस्या संवादबाटै समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ ।

गृहजिल्ला सिन्धुपाल्चोकको जुगल गाउँपालिका १ र ५ जोड्ने मोटरेबरल पुलको शिलान्यासपछि आयोजित कार्यक्रममा सभामुख सापकोटाले ठूला विवादको पनि संवादबाट निकास निस्कने गरेको उल्लेख गर्दै संसद्को विवाद पनि संवादबाटै समाधान हुने उल्लेख गर्नुभयो ।

कोभिड–१९, राजनीतिक र जलवायु परिवर्तनले निम्त्याएको सङ्कटका कारण यसबीचमा आम नागरिकसँग प्रत्यक्ष जोडिन र विकास निर्माणमा ध्यान दिन नसकिएको उल्लेख गर्दै सभामुख सापकोटाले अब अवस्थामा केही सहजता आएको बताउनुभयो । जुगल गाउँपालिका–५ को चनौटेमा रहेको रत्नराज्य माध्यमिक विद्यालयमा उहाँको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा सहभागी हुनुभएका सभामुख सापकोटाले शिक्षाले नै समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

आधुनिक र सुविधा सम्पन्न विद्यालय भवनको सही सदुपयोग गर्न विद्यालय परिवार र सम्बद्ध पक्षलाई सभामुख सापकोटाले सुझाव दिनुभयो । चीन सरकारको सहयोगमा निर्माण सम्पन्न रत्नराज्य माध्यमिक विद्यालय देशकै नमुना विद्यालयमध्यको एक हो ।

सभामुख सापकोटा जुगल गाउँपालिका–२ गोल्चे बगरमा रहेको वडा कार्यालय परिसरमा आयोजना गरिएको ‘जनतासँग सभामुख’ कार्यक्रममा समेत सहभागी हुनुभयो । उहाँले जनताको भावनाको सधैँ सम्मान गर्ने बताउनुभयो । सभामुख सापकोटाले अहिले स्तरोन्नति भइरहेको बलेफी जलबिरे कात्तिके तेम्बाथान सडक खण्डको बलेफी खण्ड, अहिले मर्मत भइरहेको आँपबोटे जलबिरे खण्ड र कालोपत्रको तयारी भइरहेको ढाँडे कात्तिके खण्डको निरीक्षणसमेत गर्नुभयो ।

बाग्मती प्रदेश पूर्वाधार कार्यालयका प्रमुख राजु श्रेष्ठसहितका सडक निर्माणमा संलग्न अधिकारीसँग निर्माणको अवस्थाबारे उहाँले जानकारी लिनुभएको थियो ।(रासस)

प्रकाशित : २४ चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६