प्रदेश

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैते छठ सकियो



धनुषा, २५ चैत्र । मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैते छठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्व अन्तिम दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलमा जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी सकिएको हो ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाऊ र जलाशयमा श्रद्धालु भक्तजनको भिड लाग्ने गर्छ ।

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन मङ्गलवार व्रतालुले नहा खा अर्थात नुहाएर खाएर जीउ चोख्याउने काम गरेका थिए । पर्वको दोस्रो दिन बुधवार खरना मनाएका थिए । खरनाका दिन व्रतालुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन ९बिना नुन हालेको० खानेकुरा खाएका थिए ।

षष्ठीका दिन अर्थात बिहीवार बेलुका गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी त्यसबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखेर परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठघाटसम्म पुगेका थिए ।

हिजो बेलुका व्रतालुले सन्ध्याकालीन अर्घ्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर अन्य अर्घ्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ्य अर्पण गरेका थिए । आज बिहान पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन बेलुका गरेको क्रम दोहोर्याइ प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ सम्पन्न गरेका छन् ।(रासस)

प्रकाशित : २५ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६