काठमाण्डौ, २६ चैत्र । यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको लागि काठमाण्डौको माइतीघरमा धर्ना कार्यक्रम सम्पन्न भएको छ । फेसबुकमा स्टाटस लेखेकै कारण पाण्डेलाई नेपाली दूतावास र राजदूत कृष्णप्रसाद ढकालले नै षड्यन्त्र गरेर जेल पठाएको भन्दै उहाँको रिहाइको लागि युथ कंग्रेसको आयोजनामा धर्ना कार्यक्रम भएको हो ।
धर्नामा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले दूतावास र राजदूतले आफ्ना देशका नागरिकको संरक्षण गर्नुपर्नेमा उजुरी नै गरेर जेल पठाउनु अक्षम्य अपराध भएको बताउँदै पत्रकार पाण्डेलाई रिहाइको लागि परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने र राजदूतलाई तत्कालै फिर्ता बोलाउनुपर्ने बताउनुभयो । पत्रकार पाण्डेलाई जेल हाल्नको लागि राजदूत ढकालले नै यूएईको प्रशासनलाई लेखेको पत्र महासंघले प्राप्त गरेको भन्दै अध्यक्ष पोख्रेलले अख्तियारको दूरुपयोग र आफ्नै नागरिकलाई विदेशको जेल हाल्न षड्यन्त्र गर्ने राजदूतलाई पदमा बस्ने कानुनी आधार र नैतिकता नभएको बताउनुभयो ।
पत्रकार पाण्डेले नेपालमा रहँदा गएको जनवरी ७ (पुस २३) गते सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्नता रहेको आशयमा स्ट्याटस लेख्नुभएको थियो । फेसबुकमै लेखेको आधारमा पत्रकारलाई जेल पठाइनु संविधानमा भएका मौलिक हककै उल्लंघन भएको पनि पोख्रेलको भनाइ छ । धर्नामा एमनेष्टी इन्टरनेशल नेपालकी महासचिव सञ्चिता कुइँकेल, पत्रकार महासंघ यूएईका पूर्व अध्यक्ष भुपराज बस्याल लगायतले पनि राजदूतले पदको दुरुपयोग गरेर पत्रकार उमाकान्त पाण्डेलाई जेल पठाएको भन्दै सरकारले तत्कालै कदम चाल्नुपर्ने बताउनुभयो ।
धर्नामा ‘वाक स्वतन्त्रता हनन्ः लोकतन्त्रको उपहासु, पराइ भूमिमा आफ्नैबाट नागरिक असुरक्षित, परराष्ट्रको मौनताः राजदूतलाई हौसला लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो ।
यूएईको नेपाली दूतावासलाई लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमा लेखेको कारण देखाइ दुबईको अदालतले पत्रकार पाण्डेलाई २० हजार दिराम जरिबाना र सम्पत्ति जफतसहित देश निकाला गर्ने कारबाही सुनाएसँगै उहाँ त्यहाँको जेलमा रहनुभएको छ ।
प्रतिक्रिया