प्रदेश

म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रमा नयाँ वर्ष मनाउनेको भिड



म्याग्दी, ०१ बैशाख । आज नयाँ वर्ष २०७९ को पहिलो दिन । म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिकस्थलमा हिजोदेखि नै आन्तरिक तथा बाह्य पर्यटक र भक्तजनको भिड लागेको छ ।

नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी, पुनहिल, तातोपानी र मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायतका क्षेत्रमा आएका छन् ।
मन्दिर र देवालयको दर्शन गर्न तथा कालीगण्डकीमा स्नान गर्न जानेको पनि घुइँचो छ । नयाँ वर्षको सुरुआतसँगै म्याग्दीका पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले खचाखच भरिन थालेका छन् भने मन्दिर, देवालय र शक्तिपीठमा भक्तजनको घुइँचो लाग्न थालेको छ ।

पाहुनाका कारण म्याग्दीको सदरमुकाम बेनी बजारका होटल खचाखच भरिएका छन् भने सडकमा सार्वजनिक र निजी गाडी बिहानैदेखि बाक्लै गुडेका बेनीको प्रवेशनाका कालीपुलमा रहेको ट्राफिक प्रहरीले जनाएको छ । बुधवार रातिसम्म बेनीमा भित्रिएका दुई हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आज बिहानै मुस्ताङको मुक्तिनाथ र म्याग्दीका पर्यटकीयस्थल टोड्के, भुरुङ तातोपानी, रुप्से झरनालगायत क्षेत्रतर्फ लागेका छन् ।

त्यसैगरी नयाँ वर्षको पहिलो दिन म्याग्दीको पर्यटकीय स्थल पुनहिलबाट सूर्योदयको अवलोकन गर्न एक हजारभन्दा बढी पर्यटक बुधवार नै घोडेपानी पुगिसकेका घोडेपानीका होटल व्यवसायीले बताएका छन् । स्थलमार्गबाट मुस्ताङ जाने पर्यटकका लागि बेनी प्रवेशद्वारसमेत भएको हुनाले मुस्ताङ जाने पर्यटकको भिड बेनीमा देख्न सकिन्छ ।

घोडेपानी टोल सुधार समितिका संयोजक विरेन गर्बुजाका अनुसार नयाँ वर्ष मनाउन देशका विभिन्न ठाउँबाट अघिल्लो दिनदेखि नै घोडेपानीमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको छ । घोडेपानीमा बास बसेका पर्यटक अहिले बिहानै पुनहिलतिर उकालो चडिरहेका गर्बुजाले जानकारी दिनुभयो ।

चितवनको भरतपुर उपमहानगरपालिका–२ क्षेत्रपुरबाट घोडेपानी भ्रमणमा आउनुभएका चिरञ्जीवी पौडेल, रक्षा पौडेलसहित उहाँको समूहका १२ जना युवायुवतीले पाँच दिनसम्म म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक क्षेत्रको भ्रमण गर्ने र नयाँ वर्ष यहीँ मनाउने योजना रहेको सुनाउनुभयो ।

केही दिनयता बेनीमा आन्तरिक पर्यटकको आगमन साविकको भन्दा उल्लेख्यरुपमा बढेको बेनीका होटल व्यवसायीले बताएका छन् । चैत अन्तिम हप्तादेखि म्याग्दीका प्रायजसो ठूला होटल भरिभराउ भएको होटल व्यवसायी सङ्घका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिनुभयो ।

पहिला नेपाली र भारतीय पर्यटकको रोजाइ बनेको मुक्तिनाथ मन्दिर सोझै गएर फर्कने चलन थियो, तर पछिल्ला वर्षमा मुक्तिनाथ पुगेका पर्यटक बेनी, बाग्लुङ कालीका र पञ्चकोटमा समेत पुग्ने गरेकाले यस क्षेत्रको पर्यटकीय विकासमा थप सहयोग पुगेको उहाँको भनाइ थियो । रासस

प्रकाशित : १ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६