प्रदेश

रुपन्देहीका ६ वटा स्थानीय तहमा गठबन्धन नहुने, १० स्थानीय तहमा हुने



रुपन्देही,०४ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रुपन्देहीका ६ वटा स्थानीय तहमा सत्तारुढ दलबीच गठबन्धन नहुने भएको छ । १६ स्थानीय तहमध्ये जिल्लाको दक्षिणी भेगका लुम्बिनी सांस्कृतिक नगरपालिका तथा मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी र गैडहवामा छुट्टाछुट्टै चुनाव लड्ने गठबन्धनमा आवद्ध दलहरूबीच सहमति भएको हो ।

यी पालिकाहरूमा एमाले कमजोर भएकाले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्दा पनि गठबन्धन दलकै जित हुने निष्कर्षसहित मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले बताए । यी ६ पालिकामध्ये पाँचवटा पालिकामा अघिल्लो निर्वाचनमा जनता समाजवादी पार्टीले जितेको थियो । हाल एक पालिका प्रमुख र उपप्रमुख लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टीले दक्षिणी भेगका ८ वटा पालिकामा दाबी गरेपछि दलहरूबीच सहमति जुट्न नसक्दा मित्रवत प्रतिस्पर्धा गरेर जाने विकल्प रोज्नुपरेको सभापति खांणले बताए । ‘दक्षिणका ६ पालिकामा एमाले चौथो स्थानमा रहेकाले अलग अलग लड्दा पनि गठबन्धनभित्रकै दलले जित्ने भएकाले यो विकल्प रोजेका हौं’ खाँणले भने, ‘अन्य १० वटा पालिकामा भने गठबन्धन हुन्छ ।’

रोहिणी र ओमसतिया गाउँपालिकामा पनि गठबन्धन नगरी छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने सम्भावना रहेको जसपा नेता किस्मत विश्वकर्माले बताए । बुटवल उपमहानगरसहित अन्य ४ वटा नगरपालिका र ५ वटा गाउँपालिकामा पनि दलहरूबीच कुन दलले कुन पालिकाको नेतृत्व र कति वडा पाउने भन्ने सहमति जुट्न सकेको छैन ।

बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर र तिलोत्तमामा प्रमुख पद नेकपा एकीकृत समाजवादीको दाबी रहेको एकीकृत समाजवादीका जिल्ला सचिव अविराम विकले बताए । ‘एमालेले जितेका पालिकामा हाम्रो दाबी स्वभाविक हो’ विकले भने, ‘पालिकाहरूको न्यायोचित बाँडफाँट गरेर नतिजा राम्रो आउने गरी गठबन्धनलाई सफल बनाउन सबै लचिलो हुनुपर्छ ।’

यस्तै सैनामैना नगरपालिका, ओमसतिया र कन्चन गाउँपालिकामा नेकपा माओवादी केन्द्रले दाबी गरेको छ । गठबन्धनको ठूलो दल भएकाले नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकासहित देवदह, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर नगरपालिका र शुद्धोधन गाउँपालिकामा पनि दाबी गरेको छ । ‘सबैका आ आफ्ना दाबी भए पनि आइतबार (आज) साँझ वा सोमबारसम्म कस्ले कुन पालिका लिने भन्ने सहमति जुटाउँछौं’ कांग्रेस रुपन्देही सभापति खाँणले भने ।

प्रकाशित : ४ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६