प्रदेश

ओलीको दाबी : पालिका चुनावपछि देशमा विकासको लहर आउछ



हुम्ला ४ बैशाख – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चुनावपछि देशमा विकासको लहर आउने दाबी गर्नुभएकाे छ । एमाले हुम्लाले आज आइतवार आयोजना गरेको कार्यक्रममा उहाँले यस्ताे दाबी गर्नुभएकाे हाे । 

अध्यक्ष ओलीले नागरिकको आर्थिक, सामाजिक तथा समग्र विकासका लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठूला योजना अघि सारेको पनि बताउनुभयाे । आफू प्रधानमन्त्री हुँदा हुम्लासहित देशभरका जिल्लामा विकास निर्माणले तीव्र गति लिए पनि गठबन्धनको सरकार आएपछि सुस्ताएको आरोप लगाउँदै एमाले अध्यक्ष ओलीले देशको विकास निर्माणले सात महिनापछि फेरि फड्को मार्ने दाबी गर्नुभयो । 

कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले कर्णाली करिडोरको स्तर वृद्धि गर्नुपर्ने बताउनुभयाे । उहाँले करिडोर निर्माणलाई तीव्र गतिमा अगाडि बढाएर हुम्लाका नागरिकलाई गुणस्तरीय यातायात सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । हुम्लामा टेलिफोन, इन्टरनेट, सडक, रोजगारलगायत छिमेकी देशसँग जोडिएको सीमा नाका खुला नहुँदा यहाँका नागरिकले पीडा भोग्नुपरेको बताउँदै उहाँले जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित अन्य पालिकाका धेरैजसो वडामा टेलिफोनले राम्रोसँग काम नगरेको आफूले सुनेको बताउनुभयो । 

कर्णाली करिडोर हिल्सासम्म जोड्नका लागि आफूले कुरा अगाडि बढाएको जानकारी दिँदै अध्यक्ष ओलीले दुर्गम जिल्लाका नागरिक बिरामी हुँदा उपचार गर्न समस्या भोग्नुपरेको बताउनुभयो । उहाँले अन्तरजिल्ला जोड्ने निजी एअरलाइन्सले दैनिक एक उडान गर्न आवश्यक छ भन्नुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो, ‘हुम्ला पर्यटक सम्भावना बोकेको जिल्ला हो, यातायातको सुविधालाई पहिलो प्राथमिकता दिनुपर्छ । भूगोलअनुसारको विकास पूर्वाधारलाई प्राथमिकता दिनुपर्छ ।’ ज्येष्ठ नागरिकको जीवन बीमा एमाले सरकारमा हुँदा लागू भएको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘एकल महिला, ज्येष्ठ नागरिक, वृद्धवृद्धा र अपाङ्गताको दुःख हेर्ने जनताको पार्टी एमाले नै हो ।’

अध्यक्ष ओलीले उत्तरी नाम्खा गाउँपालिका ६ लिमीका तीन जना बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पठनपाठन गराइदिने बताउनुभयो । उहाँले तिल, जाङ, र हल्जीका गाउँमा रहेका तीन वटै विद्यालयका तीन जना बालबालिकालाई निःशुल्क पठनपाठन गराइ दिने बताउनुभयो । 

प्रकाशित : ४ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६