कपिलवस्तु ।
आसन्न बैशाख ३० मा हुन गइरहेको स्थानीय तहको चुनावमा दलहरुले आफ्ना उम्मेद्वार अझै सार्वजनिक गर्न सकेका छैनन् । पालिकामा हुने चुनावमा आकांक्षीहरुले पार्टी भित्र आफ्नो दावेदारी प्रस्तुत गरे पनि अझै दलहरुले औपचारिक रुपमा उम्मेदवार टुङ्ग्याएका छैनन् ।
कपिलवस्तुका १० पालिका मध्ये शिवराज नगरपालिका गएको ०७४ सालको स्थानीय चुनावमा एमालेले मेयर, उप-मेयर जितेको थियो । हाल मेयर रहेका नेत्रराज अधिकारीले चुनावमा पुनः नउठ्ने बताए पछि तीन जनाको मेयरमा दाबेदारी पेश भएको छ । मेयरमा सर्वसम्मत नाम आउन नसके पछि नगर कमिटीले तीन जनाको नाम जिल्लामा पठाएको छ ।
जिल्ला हुँदै लुम्बिनी प्रदेश कमिटीबाट अबका केही दिनमा एक जना मेयरका उम्मेदवार भएर नाम आउने छ, त्यहीँ आशामा एमाले शिवराजका कार्यकर्ता बसेका छन् ।
मेयरमा दाबेदारी प्रस्तुत गर्ने मध्येका एक हुन् लुम्बिनी प्रदेश सांसद अर्जुन केसी । एमाले कपिलवस्तुका जिल्ला उप-सचिव रहेका केसी प्रदेश सांसद त्यागेर मेयर उठ्ने योजनामा छन् । नेताहरुकै योजना अनुसार केसीले मेयरमा दावेदारी प्रस्तुत गरेको हुन सक्ने एमाले कार्यकर्ताको अड्कल छ । यद्यपि यसको औपचारिक पुष्टि केसीले मेयरमा टिकट पाए पछि मात्र हुनेछ ।
एमाले विभाजनको असर शिवराजमा राम्रोसंग परेको छ । जिल्लाका अरु क्षेत्रमा भन्दा नेकपा (एकीकृत समाजवादी) रोज्ने नेता शिवराजमा बढी छन् । एमालेका त्यस क्षेत्रका प्रभावशाली नेताहरु क्षेत्र बहादुर खत्री, लंक बहादुर हमाल, मीना परियार, जीवलाल पौडेल, सरोज पौडेल, ओमप्रकाश कुर्मी लगायत एकीकृत समाजवादीमा छन् । यसले पनि प्रदेश सांसद छोडाएर केसीलाई शिवराजमा मेयर उठाउनु पर्ने कार्यकर्ताको दबाब छ । केसी मेयरमा उठे शिवराजमा एमालेले जित्न सक्ने कतिपयको नेताको आकलन छ । सोही अनुसार केसीले मेयरको लागि इच्छा देखाएको हुन सक्ने धेरैको बुझाई छ ।
यस्तै मेयरमा अर्का दावेदारी प्रस्तुत गर्ने नेता महादेव पोख्रेल हुन् । चन्द्रौटा क्षेत्रमा व्ययसायिक क्षेत्रका चर्चित व्यक्ति पोख्रेल एमाले शिवराज नगर कमिटीका उपाध्यक्ष हुन् । ०७४ सालमै मेयरमा दाबी गरेका पोख्रेल त्यस यता लगातार मेयर उठ्ने गरि पार्टी काममा सक्रिय हुँदै आएका छन् । यी बीचको ५ बर्षमा उनले एमाले भित्र सक्रिय राजनीति गरे । एमालेबाट भावी मेयरका प्रत्यासीबाट चिनिदै आएका पोख्रेललाई पार्टीले टिकट दिन्छ की दिदैन अझै भन्न सकिने स्थिति छैन् । युवाहरुको दरिलो साथ पाएका पोख्रेल भने आफुले टिकट पाउनेमा ढुक्क छन् ।
यसैगरि शिवराजको मेयरमा लोकेन्द्र पौडेलको पनि दाबी छ । पार्टी राजनीतिमा खासै काम नगरेका पौडेलको नाम पनि एमाले नगर कमिटीले सिफारिस गरि जिल्लामा पठाएको छ ।
प्रतिक्रिया