काठमाण्डौ, १२ वैशाख । सत्तारुढ गठबन्धनले पाँच दलीय गठबन्धनको निर्णयअनुसार मनोनयन दर्ता गर्न निर्देशन दिएको छ । सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णयअनुसार गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएको हो ।
बैठकले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउन आ–आफ्नो दलको संयन्त्रमार्फत निर्देशन दिने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । उहाँले देशैभरि पाँच दलको एउटै उम्मेदवार हुने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘समग्र मिटिङमा पाँच दलको भावना र मर्मअनुसार अगाडि बढ्ने र काहीँ आन्तरिक केही असमझदारीहरु छन् भने तिनीहरुलाई समझदारीमा परिणत गर्ने र जनमतलाई ध्यानमा राखेर आफ्ना गतिविधिलाई अगाडि बढाउनुका साथै आज पाँच दलको जुन निर्णय भएको छ, त्यही निर्णयअनुसार सबैलाई मनोनयन गर्नका निमित्त निर्देशन दिने कुरा भएको छ ।’ मन्त्री कार्कीले गठबन्धनको निर्णय विपरीत उम्मेदवारी दर्ता गराउनेलाई पनि सहमतिमा ल्याउने बताउनुभयो ।








प्रतिक्रिया