नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट निकै महँगोमा बिजुली ल्याइरहेको भन्ने हल्ला गलत भएको बताउनुभएको छ ।
केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घिसिङलाई भारतबाट ३८ रुपैयाँ युनिटमा बिजुली किनेको आरोप लगाउनुभएको थियो । तर आज घिसिङले बाहिर चर्चा गरिएको जस्तो सधैँ प्रतियुनिट ३८ रुपैयाँमा नकिनेको र आयातको औसत मूल्य भारु तीन अर्थात् चार रुपैयाँ आठ पैसा रहेको जानकारी दिनुभयो । भारतीय इनर्जी एक्सचेन्जमा नै अधिकतम ३२ रुपैयाँसम्म बोलकबोल गर्न पाउने भन्दै घिसिङले ३८ रुपैयाँमा बिजुली किनेको हल्लामा कुनै सत्यता नरहेको बताउनुभयो ।
‘एक दिन हामीले १५ मिनेटको ब्लकमा भारु २० प्रतियुनिट मूल्य कोट गरेका थियौँ, त्यसमा भारु १८ (२८ रुपैयाँ आठ पैसा) परेको रहेछ, त्यो पनि १५ मिनेको ब्लकमा । यसभन्दा हामीले माथि कोट गरेकै छैन । अहिले भारु १२ प्रतियनिटको सीमा लगाइदिएकोले त्यसभन्दा बढी कोट गर्ने कुरै भएन । अहिले हामी उत्कृष्ट मूल्य हुने गरी मूल्य कोट गर्छाैँ’, उहाँले भन्नुभयो ।
गएकाे मङ्सिरसम्म पनि नेपालले केही बिजुली निर्यात गरिरहेको तर पुसदेखि भने किन्नुपरेको घिसिङको भनाइ छ । ‘पुसतिर जाडोका कारण हाम्रो माग बढी थियो भने भारतको कम । पुसमा बिजुली आयात गर्दा प्रतियुनिट औसत मूल्य भारु तीन (४ रुपैयाँ ८ पैसा) भन्दा कम थियो । माथिल्लो तामाकोसीले धान्ने भएकोले बेलुका र बिहान पिकमा आयात नै गर्नुपर्दैन थियो । बिहारबाट प्रतियुनिट भारु ६.१८ (नाै रुपैयाँ ८८ पैसा) मा आयात गर्थ्याैँ । त्यसैले भारतीय प्रतिस्पर्धी बजारमा योभन्दा बढी कोट नै गर्दैन थियौँ । भारु ६.१८ लाई आधार मूल्य तय गरी प्रतिस्पर्धी बजारमा प्रतिस्पर्धा गर्थ्याैँ । एक दिन त औसत मूल्य प्रतियुनिट भारु १.८३ (२ रुपैयाँ ९२ पैसा) आएको छ । पुस, माघ, फागुनसम्ममा आयातित बिजुलीकाे प्रतियुनिट औसत मूल्य भारु तीन (चार रुपैयाँ आठ पैसा) भन्दा कम छ । यसमा प्रसारण लाइन शुल्क ५३ पैसा थप्दा औसत भारु ३.५३ छ’, उहाँले भन्नुभयो । चैतसम्ममा आयातित बिजुलीकाे प्रतियुनिट औसत मूल्य भारु ४.५० को हाराहारीमा छ ।
घिसिङले नेपालले भारतलाई सस्तोमा बिजुली बेच्यो भन्ने आरोप पनि गलत भएको बताउनुभयो । गएकाे सेक्टेम्बर र अक्टोरबरमा बिहारमा बिक्री गरिएको बिजुलीकाे प्रतियुनिट मूल्य ६ रुपैयाँ १८ पैसा रहेको उहाँको भनाइ छ । ‘जति मूल्यमा आयात भयो त्यतिमै निर्यात गरिएको हो । नेपालले इनर्जी एक्सचेन्ज मार्केटमा नोभेम्बरबाट डिसेम्बरको मध्यसम्म बिक्री गर्न पाएको हो । हामीले भारतबाट स्वीकृति पाएपछि ३९ मेगावाट एक्सचेन्ज बजारमा बिक्री गरेका हौँ । हामीले जति कोट गरे पनि बिजुली बिक्री भएन भने शून्यमा आउनुपर्छ । डेढ महिनाको ३९ मेगावाटको भारु ३.५० औसत मूल्य पाएका हौँ । दीर्घकालीन विद्युत खरिद–बिक्री सम्झौताअनुसार नभएर ९६ वटा ब्लकमा प्रतिस्पर्धी दरमा तय भएको रेटमा बिक्री गरिएको हो । अहिले हामीसँग अतिरिक्त ऊर्जा भएको भए प्रतियुनिट औसत मूल्य भारु १२ पाउँथ्यौँ’, घिसिङले भन्नुभयाे ।
प्रतिक्रिया