कपिलवस्तु, २४ वैशाख
कपिलवस्तुका डिएफओले आफ्नो काठ्माण्डौ स्थित घर सुन्दरीकरणका लागि सरकारी श्रोत साधनको दुरुपयोग गरेका छन् । डिभिजन बन कार्यालय कपिलवस्तुका डिभिजनल बन प्रमुख विजयराज सुवेदीले गोदावरीमा रहेको घरमा काठैकाठको गोलघर बनाउन भन्दै २० क्यूफिट साल काठ र १ मिनि ट्रक खर काठमाण्डौ पठाएका छन् ।
शनिबार सार्वजनिक विदाको दिन तिलौराकोट साझेदारी बनको लु १ क ९२७ नम्बरको मिनि ट्रकमा उनले उक्त सामान पठाएका हुन् । शुक्रबार राती करिब ३ बजे इलाका प्रहरी कार्यालय पिपराबाट उक्त सवारी जिल्ला बाहिरिएको प्रहरी श्रोतले जनाएको छ । गोरुसिंगे घर भएका चालक राजु चौधरीले उक्त गाडी चलाएको र पालले खरलाई ढाकेको तर खर भित्र के रहेको भनेर हेर्न नपाएको र काठमाण्डौ जाने बताएको चेकिङ्गमा खटिएका एक प्रहरीले जानकारी दिए । यस अघि पनि सुवेदीले मायादेवी साझेदारी बनमा रहेको २ वटा जंगली सिसौ काट्न लगाई फर्निचर बनाएर काठ्माण्डौ पठाएको पिपरा सबडिभिजनकै कर्मचारीहरु बताउछन् ।
शनिबारको दिन सरकारी सवारी तथा कर्मचारी जिल्ला बाहिर जादा जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृति लिनुपर्ने हुन्छ । तर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले उक्त सवारी जिल्ला बाहिर जान अनुमति नलिएको जनाएको छ । तिलौराकोट साझेदारी बनका संयोजक जय प्रकाश पाण्डेले आफ्नो सवारी बेलुकी गोरुसिंगे सब डिभिजनमै रहेको तर आज कता छ थाहा नभएको बताए । आफुले यसबारे बुझ्ने बताउदै उनले यदि त्यस्तो भइहालेपनि सामान्य रुपमा लिन आग्रह गरे ।
श्रोतका अनुसार सुवेदीले शुक्रबार राती काठमाण्डौ पठाएको २० क्यूफिट काठ मायदेवी साझेदारी बनमा पक्राउ परेका अवैध काठ हुन् । जसको अभिलेख नराखी पकडी स्थित पट्टु मुसलमानको स–मिलमा चिरान गरिएको थियो भने खर जंगलमै शशस्त्र बन रक्षकबाट काट्न लगाइएको थियो । बन संरक्षण र गस्तीमा परिचालन गर्नुपर्ने बन रक्षकहरुलाई डिएफोले खर काट्न मात्र होइन विभिन्न निजी काममा खटाउने गर्दछन् । उनले गोलघर बनाउन समेत २ जना शशस्त्र बन रक्षकलाई काजमा काठमाण्डौ पठाउने तयारी समेत गरेको कर्मचारी श्रोतको भनाई छ । सुवेदी जिल्लामा आएदेखि नै सरकारी गाडी दुरुपयोग गर्दै आएका छन् । तत्कालिन सिडिओ चक्रपाणी पाण्डेलाई त उनले तिलौराकोट साझेदारी बनले बनगस्तीका लागि खरिद गरेको डबलक्याप स्कार्पियो जिम्मै लगाएका थिए । साझेदारीको बजेटको तेल, उसकै कर्मचारी तथा सिडियो पत्नीको चाकडी र खुसामती गर्न सुवेदीले उक्त गाडी दिदै आएका थिए । सामुदायिक बन, काष्ठ व्यवसायी, कर्मचारी सबै असन्तुष्ट र रुष्ट बनेका छन् । तानाशाह शैलीमा आफु माओवादी निकट रहेको र मुख्यमन्त्री साथी जस्तै भएको, कसैले केहि गर्न नसक्ने, आफु जत्तिको बन विज्ञ नेपालमै नभएको भन्दै कर्मचारी र्थकाउने गरेका छन् । यसबारे डिभिजनल बन प्रमुख सुवेदी संग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।
प्रतिक्रिया