काठमाण्डाै – इन्धनको भाउ अत्याधिक बढेको भन्दै नाइजेरियाका हवाई सेवा कम्पनीले सोमबारदेखि उडान ठप्प पार्ने भएका छन् । सरकारले हवाइ इन्धनको भाउ चार गुणाले बढाएको विरोधमा नाइजेरियाका सबै हवाइ सेवा कम्पनीले सोमबारदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।
नाइजेरियन एअर अपरेटर एओनले विश्वका कुनै पनि देशमा यस्तो चर्को मूल्यवृद्धि नभएको दाबी गर्दै उडान बन्द गर्नुको विकल्प नरहेको जनाएको छ । नाइजेरियामा हवाई इन्धनको मूल्य ५० वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । मूल्यवृद्धिकै कारण गएको मार्च महिनादेखि नै कयौँ उडान रद्द र ढिलाइ हुँदै आएका छन् । हवाई यातायात सञ्चालन गर्नेहो भने इन्धनमा सहुलियत दिनुपर्ने कम्पनीहरुको माग छ ।
अफ्रिकाको सबैभन्दा ठूलो इन्धन उत्पादक भए पनि नाइजेरियाले हवाइ इन्धन भने आयात गर्ने गर्दछ । नाइजेरियामा सडक यातायात असुरक्षित हुँदा हवाइ यात्रा बाध्यत्मक बनेको छ । सडकमा लुटपाट, चन्दा आतंक, अपहरण लगायतका समस्या हुँदै आएका छन् ।
प्रतिक्रिया