कपिलवस्तु, वैशाख २७ नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले वाणगंगा नगरपालिका भित्र बसोवास गर्ने भूमिहिन सुकुम्बासीका समस्या प्रति आफु जानकार रहेको जिकिर गर्दै सकुम्वासी समस्या सधाका लागि अन्त्य गर्ने गरी कार्य सम्पन्न गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । अर्यालले सुकुम्बासीका समस्या प्रति आफु गंभिर रहेको बताउदै त्यसको समाधानमा आफुले कुनै कसुर बाकी नराख्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
अर्यालले बाणगंगा नगरभित्रको खेती योग्य जमिनको उचित ब्यवस्थापन गर्दै कृषिजन्य वस्तुको उत्पादकत्व वृद्धिका लागि सिचाईको उचित ब्यवस्था, उन्नत विउ, मलखादको ब्यवस्थापन गर्दै कृषकलाई, अनुदान, सहुलियत कर्जा जस्ता प्याकेज मार्फत प्रोत्साहन गर्ने बताउनु भयो । अर्यालले नगर भित्रका सबै क्षेत्रको समुचित विकास बाट मात्र आफुहरुले चाहे जस्तो समृद्ध नगर, सुखी वाणगंगा नगरवासी बनाउने संकल्प पुरा हुने बताउनु भयो । त्यसका लागि जनप्रतिनिधीको इमान्दारिता, तिव्र विकास प्रतिको चाहना आवश्यक रहेको चर्चा गर्दै आफुले जनतासामु गरेका प्रतिवद्धता पुरा गर्न अर्थक मेहनत, सहकार्य गर्ने दावी गर्नु भयो । अर्यालले आफुले नगरको उपप्रमुख हुदा जनताबाट सिकेका सिकाई, उपलब्धीलाई आगामी दिनमा जनताको हितमा प्रयोग हुने विश्वास ब्यक्त गर्नु भयो । मेयरका प्रत्यासी अर्यालले संचारकर्मीको जिज्ञासालाई सम्बोधन गर्दै यस्तो धारणा सार्वजनिक गर्नु भएको हो ।त्यस्तै उपमेयरकी प्रत्यासी रिता थारुले सबै जात जाति वर्ग समुदाय बीचको भाइचारा एकता, सदभाव कायम गर्दै वाणगंगा नगरपालिकालाई एउटा सबै जातिको पहिचान झल्कने र सबैले अपनत्व ग्रहण गर्ने नगरको रुपमा विकास गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
२७ बैशाख २०७९, मंगलबार
प्रतिक्रिया