चन्द्रौटा,९ जेठ
कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर अजय थापाले अनिवार्य माध्यमिक शिक्षा सम्म निःशुल्क अध्यापन गराउने निर्णय गरेका छन् । निर्वाचित भएपश्चात् पहिलो दिन कार्यालयमा पदभार ग्रहण गर्दै थापाले नगरमा रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले अब माध्यमिक तह सम्म कुनै पनि शुल्क तिर्नु नपर्ने बताउनुभयो । सरकारले माध्यमिक शिक्षा निःशुल्क भने पनि विद्यालयहरूले विभिन्न वाहानामा शुल्क लिइरहेकोले विद्यालयहरूलाई नगरले सहयोग गरेर उक्त शुल्क लिन नपाउने थापाले बताउनुभयो । नगरमा रहेका मदरसाहरूलाई प्राथमिकता राखेर विद्यार्थी वाट कुनै शुल्क लिन नपाउने गरी विद्यालय तथा मदरसाहरूलाई नगरले सहयोग गर्ने बताउनुभयो । विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई अनौपचारिक शिक्षा प्रदान गरेर भए पनि शिक्षाको पहुँचमा ल्याउने थापाको भनाई छ । सभ्य समाज निर्माणको लागि सबै नगर बासीहरू शिक्षाको पहुँचमा हुनुपर्ने भएकोले आफूले शिक्षालाई प्राथमिकतामा राखेको बताउनुभयो । सामुदायिक विद्यालयहरूमा अङ्ग्रेजी माध्यम बाट पठनपाठनको व्यवस्था गरिने उहाँले बताउनुभयो । ‘जनताले ठुलो आशा सहित मलाई मत दिएर विजय गराउनुभएको छ,मैले यो विश्वास लाई पुरा गर्ने छु,थापाले भन्नुभयो ‘शिवराज नगरपालिकालाई आगामी पाँच वर्षमा उल्लेखनिक काम गरेर नमुना बनाउने प्रयास हुने छ’ । नगरप्रमुख थापाले पदभार ग्रहण गर्दै मतदातालाई धन्यवाद समेत दिनुभयो । युवाहरूमा लोकप्रिय रहेका थापाले सोमवार उपप्रमुख सहित वडाध्यक्ष र वडा सदस्यहरूलाई शपथ ग्रहण गराउनुभएको छ । थापाले नगरलाई भ्रष्ट्राचार मुक्त नगर बनाउन सबै वडाका जनप्रतिनिधिहरू लाग्नुपर्ने बताउनुभयो । आफूले पनि कुनै भ्रष्ट्राचार नगर्ने र गर्न नदिने प्रतिबद्धता जनाउँदै समृद्ध नगरको सङ्कल्प गर्न आग्रह गर्नुभयो । सबैको चाहाना नगरको विकास रहेकोले यसमा हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया