रुकुम पश्चिम, १६ जेठ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३ लापुलेगाउँका उत्सव पोखरेल कोपाइलटको रुपमा रहेर उडाएको तारा एअरको विमान आइतवार पोखराबाट जोमसोमका लागि ९ बजेर ५५ मिनेटमा उड्यो । साथमा हुनुहुन्थ्यो, सिनियर पाइलट प्रभाकर घिमिरे।
उड्नुअघि जाजरकोटमा नलगाड नगरपालिकाको शिक्षा शाखाका कार्यरत बुबा मणिराम पोखरेलसँगको मोबाइल कुराकानीमा भन्नुभएको थियो, ‘बुबा म अर्को उडानको तयारीमा छु, पोखराबाट जोमसोम ।’ बुबाले भन्नुभयो ‘शुभयात्रा बाबु ।’ जाजरकोट सदरमुकामबाट कार्यक्षेत्र नलगाड नगरपालिकाको दल्ली नपुग्दै खबर सुनियो, तारा एअरको विमान सम्पर्कविहीन भएको ।
त्यही विमान आज बिहान मुस्ताङको थासाङ गाउँपालिका २ सानोसेरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । पूर्णरुपमा क्षतिग्रस्त विमानमा चालक दलका तीन सदस्य, चार भारतीय, दुई जर्मन र १३ जना नेपाली नागरिकसहित २२ जना रहेका थिए ।
उत्सव २५ वर्षीय हुनुहुन्थ्यो। ३० अप्रिल २०२१ देखि तारा एअरको जहाजमा उडान थालेका उत्सव जन्मस्थान चौरजहारीका एकमात्र र पहिलो पाइलट हुनुहुन्थ्यो । फिलिपिन्सको रोयल फ्लाइ एकेडेमीबाट ग्राजुएट गरेर एक वर्षअघि मात्रै नेपाल आउनु भएका उत्सव परिवारका कान्छा छोरा हुनुहुन्थ्यो ।
भाइ पाइलट बनेपछि उहाँका दाजु उमेश पोखरेल पनि पाइलट बन्ने सपनामा फिलिपिन्समा पढिरहनु भएको छ । उत्सवका दुई दाजुभाइ मात्र हुनुहुन्छ । उत्सवका बुबा मणिराम जाजरकोट र आमा उषा दाङमा शिक्षण पेसामा आबद्ध हुनुहुन्छ । उत्सव रुकुमका उदाहरणीय युवामा गनिनुहुन्थ्यो ।
फिलिपिन्सबाट अध्ययन सक्काएर नेपाल आएलगत्तै तारा एअरमा काम गर्न थाल्नुभएका उहाँ काम गरेको एक वर्ष एक महिना पुग्दा दुर्घटनामा पर्नुभयो । उहाँसहित विमानमा रहेका २२ जनाले मुस्ताङको मानापाथी हिमालको फेदीमा ज्यान गुमाएका छन् । यो दुर्घटनाको दुस्खद खबरले सिङ्गो देशसँगै उत्सवको गृह जिल्लावासीले ठूलो पीडाको अनुभूति गरिरहेको छ। अहिले घटनास्थलमा स्थानीय सामाजिक अभियान्ता इन्द्रसिंह शेरचनसहितको टोली पुगेको बताइएको छ । शेरचनले कोही पनि जीवित नरहेको प्रतिक्रिया दिनुभएको छ । साभार
प्रतिक्रिया