प्रदेश

पेट्रोल र डिजेलको मूल्य घट्ने




१७ जेष्ठ
काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार करबापतको मूल्य समायोजन गर्ने भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार करबापतको रकम मूल्य समायोजन गर्ने तयारी भएको बताएका हुन् ।
मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिइसकेकाले जतिसक्दो छिटो कार्यान्वयन गरिने मन्त्री शर्माले बताए । मूल्य समायोजन गर्ने भनिए पनि घटाउने वा कर छुट दिने भन्ने निर्णय भइसकेको छैन । आर्थिक विधेयक २०७९ मा भने हालकै शुल्क कायम गरिएको छ ।
विधेयकमा पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपियाँको दरले पूर्वाधार विकास कर भन्सार बिन्दुमा लगाई असुल गरिने उल्लेख छ । यसअघि पूर्वाधार करबापतको छुट गर्ने भनिए पनि बजेट र अध्यादेशमा सम्बोधन नभएकाले कार्यान्वयन हुने नहुनेमा आशङ्का उत्पन्न भएको हो ।
यस्तै सडक मर्मत तथा सुधार दस्तुर प्रतिलिटर पेट्रोलमा चार रुपियाँ र डिजेलमा दुई रुपियाँ र प्रदूषण नियन्त्रण शुल्कबापत प्रतिलिटरमा एक रुपियाँ ५० पैसा शुल्क रहेको छ ।
नेपाल आयल निगमले भने प्रतिलिटरमा १० रुपियाँ मूल्य घटाउँदा घाटा बढ्दै जाने बताएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले पेट्रोल, डिजेलमै घाटा धेरै भएकाले मूल्य घटाउँदा तत्काल समस्या समाधान नहुने बताए ।
पेट्रोलको खरिद मूल्य १९४ रुपियाँ ६४ पैसा र बिक्री मूल्य १८० रुपियाँ रहेकाले प्रतिलिटर पेट्रोलमा १४ रुपियाँ ६४ पैसा घाटा रहेको छ । डिजेलको लागत मूल्य १८९ रुपियाँ ८२ पैसा रहेकामा बिक्री मूल्य १६३ रुपियाँ छ । निगमलाई डिजेलमा २६ रुपियाँ ८२ पैसा घाटा रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित : १७ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६